कङ्गोको विस्थापित शिविरमा इबोला महामारीको जोखिमः स्वास्थ्य संकटका बिच मानवीय अवस्था थप जटिल

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला महामारीले विस्थापित शिविरहरूमा आश्रय लिइरहेका हजारौँ मानिसहरूको जीवनलाई थप जोखिममा पारेको छ ।

स्वास्थ्य सेवाको सीमित पहुँच र अत्यधिक भीडभाडका कारण विस्थापित शिविरहरूमा संक्रमण तिब्र रूपमा फैलिन सक्ने भन्दै अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

इटुरी प्रान्तको बुनिया शहर नजिकै अवस्थित किगोन्जे विस्थापित शिविरमा हाल १८ हजार देखि २० हजारको हाराहारीमा विस्थापित मानिसहरू बसोवास गरिरहेका छन् । शिविरका अध्यक्ष सिजुडोस एथिनकाअनुसार यहाँ ५ हजार ५५ भन्दा बढी घरधुरी रहेका छन् ।

विगत लामो समयदेखि यस क्षेत्रमा औषधि, स्वच्छ खानेपानी र आधारभूत मानवीय सहायताको चरम अभाव रहँदै आएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मुलुकमा इबोला संक्रमितको संख्या १ हजार ५ सय ६१ पुगेको छ, जसमध्ये ५०६ जनाको मृत्यु भइसकेको छ ।

किगोन्जे शिविरमा मात्रै गत मे महिना यता ४५ जनाको मृत्यु भएको छ, जसमा २० जनामा इबोला संक्रमण पुष्टि भएको शिविर प्रशासनले जनाएको छ ।

डीआरसीले गत मे १५ मा आधिकारिक रूपमा इबोला प्रकोपको घोषणा गरेको थियो । यस महामारीको केन्द्रबिन्दु मानिएको इटुरी प्रान्त पहिलेदेखि नै सशस्त्र द्वन्द्व र ठूलो संख्यामा विस्थापनको समस्याबाट गुज्रिरहेको छ ।

सामाजिक मामिला मन्त्री इभ बाजाबाले इटुरीका ६९ वटा विस्थापित केन्द्रहरूमा करिव ११ लाख ५० हजार मानिसहरू बसोबास गरिरहेको जानकारी दिँदै, संक्रमण फैलिएमा दैनिक १ हजारसम्म नयाँ केसहरू देखिनसक्ने चेतावनी दिएका छन् ।

शिविरमा व्याप्त भीडभाड र सरसफाइको कमीले संक्रमण रोकथाममा ठुलो चुनौती थपेको छ । विस्थापितहरूकाअनुसार शुरुवाती चरणमा रोगबारे भ्रम रहे पनि मृत्युदर बढ्न थालेपछि त्रास फैलिएको छ । महामारी नियन्त्रणका लागि जुलाई २ देखि शिविरमा एक आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।

यस केन्द्रले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै शंकास्पद बिरामीहरूको पहिचान र आइसोलेसनको कार्य गरिरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमण फैलिन नदिन प्रारम्भिक पहिचान र बिरामीलाई अलग राख्नु अनिवार्य छ ।

हाल कङ्गोमा देखिएको प्रकोप इबोलाको बुन्डिबुग्यो प्रजाति हो, जसका लागि हालसम्म कुनै स्वीकृत खोप वा निश्चित उपचार पद्धति उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले यस प्रजातिको उपचारका लागि सम्भावित औषधिहरूको क्लिनिकल परीक्षण इटुरी प्रान्तको र्वाम्पारा स्वास्थ्य क्षेत्रबाट शुरु गरेको छ ।

स्वास्थ्य अधिकारीहरूले यस परीक्षणले आगामी दिनमा महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =