हमासद्वारा गाजाको सरकारी संकटकालीन समिति भंग

एजेन्सी । हमासले गाजामा क्रियाशील सरकारी संकटकालीन समिति भंग गर्दै प्रशासन सञ्चालनको पूर्ण जिम्मेवारी राष्ट्रिय समितिलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

गाजास्थित हमास नियन्त्रित सञ्चार कार्यालयका महानिर्देशक इस्माइल थवाबताले सोमवार देइर अल–बलाहमा आयोजित पत्रकार सम्मेलनमा सरकारी संकटकालीन समितिका प्रमुख मोहम्मद अल–फर्राले औपचारिक रूपमा राजीनामा दिएको जानकारी दिए ।

थवाबताकाअनुसार कायरोमा प्यालेस्टिनी गुटहरूबीच भएको सहमति (रोडम्याप) बमोजिम प्रशासनिक र प्राविधिक शुन्यता हुन नदिन केवल प्राविधिक तथा व्यावसायिक कर्मचारीहरू मात्रै हालको प्रणालीमा यथावत् रहनेछन् ।

जारी युद्धका कारण नागरिकहरूले भोग्नुपरेको सास्ती कम गर्न, पुनर्निर्माणमा भइरहेको ढिलाइ, निरन्तरको नाकाबन्दी, सीमा नाकाहरू बन्द हुनु र इजरायली सेना फिर्ता नभएका कारण यो कदम चालिएको उनले स्पष्ट पारे ।

थवाबताले सम्बन्धित सबै पक्षलाई गाजाको प्रशासन सञ्चालनका लागि राष्ट्रिय समितिको प्रवेश र जिम्मेवारी बाँडफाँडको प्रक्रियालाई तीव्रता दिन समेत आग्रह गरे । यसै सन्दर्भमा हमासका प्रवक्ता हाजेम कासिमले एक छुट्टै विज्ञप्ति जारी गर्दै इजरायली हस्तक्षेपका बहानाहरू समाप्त पार्न र गाजाको शासन व्यवस्था हस्तान्तरण गर्ने समूहको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न यो निर्णय लिइएको बताए ।

गत जुन महिनामा प्यालेस्टिनी गुटहरूले कायरोमा मध्यस्थकर्ताहरूसँग भेटी युद्धविरामको दोस्रो चरणको मार्गचित्रबारे छलफल गरेका थिए । अमेरिका नेतृत्वको बोर्ड अफ पिसले प्रश्तुत गरेको उक्त मार्गचित्रमा गाजाको पुनर्निर्माण, निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र अन्तर्राष्ट्रिय शान्ति सेनाको परिचालन जस्ता प्रावधानहरू समेटिएका छन् ।

यसैबीच, गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार सोमवार दक्षिणी गाजा र गाजा सिटीका आवासीय क्षेत्रहरूमा भएका इजरायली आक्रमणमा ५ प्यालेस्टिनीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । यसबारे इजरायली पक्षबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

अक्टोबर १०, २०२५ देखि युद्धविराम सम्झौता लागू भएपनि हमास र इजरायलले एकअर्कालाई सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन् । स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविराम यता मात्रै १ हजार ७२ जनाको मृत्यु भइसकेको छ । सन् २०२३ अक्टोबरमा द्वन्द्व शुरु भएयता गाजामा कूल मृतकको संख्या ७३ हजार ९८ पुगेको छ भने १ लाख ७३ हजार ५७१ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =