आयोगको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरू सम्पन्न भइसकेका छन् । आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिसकेको बताए ।

पछिल्लो जानकारीअनुसार निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरू देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारीहरू गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दलहरू र उम्मेदवारहरूसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको बताए ।

उनले भने ‘निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको छ । केन्द्रीय तहमा हुनुपर्ने तयारी हामीले सबै सम्पन्न गरिसकेका छौँ । हाम्रो निर्वाचन आयोग माघ २ गतेदेखि सबै निर्वाचन क्षेत्रमा पुगेको थियो । त्यहाँ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ज्युहरूको कार्यालय स्थापना भएपछि आयोग सबै निर्वाचन क्षेत्रमा पुगेको थियो र हिजोदेखि निर्वाचन आयोग २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ । त्यहाँ सबै मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगिसक्नुभएको छ । उहाँले मतदान केन्द्रको सूचनादेखि लिएर त्यहाँ गर्नुपर्ने प्रशासनिक तयारीहरू गरिरहनु भएको छ । सम्भवतः आज सबै मतदान केन्द्रहरूमा यो राजनीतिक दलहरूसँग, स्थानीय राजनीतिक दलहरू, उम्मेदवारहरूसँग सर्वदलीय बैठक भएर मतदानको विषयमा उहाँहरूसँग छलफल भएर साझा अन्डरस्ट्यान्डिङहरु तयार भइसकेको छ । भोलिसम्म उहाँहरूले मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म मतदान सम्पन्न हुनेछ । निर्वाचन आयोगले अहिलेसम्म सम्पादन गरेका, आजका मितिमा सम्पादन गरिरहेका र भोलि पर्सि पनि सम्पादन गर्ने कामहरू के हुन् भन्दा यो मतदानको सम्बन्धमा जिल्ला तहलाई अथवा निर्वाचन क्षेत्रगत रूपमा र मतदान केन्द्र तहमा आएका इस्युहरुलाई सम्बोधन गर्ने गरी आवश्यक सहजीकरण निर्वाचन आयोगले गरिरहेको छ।’

मतदान केन्द्रको बुथ निर्माण कार्य सम्पन्न भइसकेपछि तोकिएको समयमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ । मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनैपनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सम्पूर्ण जनशक्ति र सामाग्रीहरू मतदान केन्द्रमा पुगिसकेको र कार्य विभाजन समेत भइसकेकोले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =