इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौँ । इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मङ्गलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी गराएका हुन् ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २९ वर्षीय श्रेष्ठको निधन भएको थियो । क्षेत्रीले अहिले खाडी मुलुकहरूमा रहेका सबै नेपाली नागरिकहरू तथा ट्रान्जिटमा फस्नुभएका नागरिक समेत सुरक्षित रहेको रहेको त्यहाँस्थित नियोगहरूले जानकारी गराएको बताए ।

उनले खाडी क्षेत्रमा रहेका १० वटै नियोग तथा सरकारी निकायहरूबाट पछिल्लो घटनाक्रमबारे निरन्तर रूपमा प्रतिवेदन प्राप्त भइरहेको समेत जानकारी गराए । उनले मध्यपूर्वमा बढ्दो समस्याको कारण नेपाली नागरिकको सुरक्षासँग सम्बन्धित समस्याको हल गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएको समेत जानकारी गराए ।

उनले भने ‘नेपाली राजदूतावास आबुधावीबाट शव फिर्ता ल्याउने विषयमा आवश्यक कारबाही अगाडि बढाइएको छ । र अहिले उक्त क्षेत्रमा रहेका हाम्रा १० वटा नियोगहरूबाट अरू सबै जना नेपालीहरू सुरक्षित रहनुभएको र ट्रान्जिटमा रहनुभएका सबै नेपाली नागरिक समेत सुरक्षित रहनुभएको जानकारी प्राप्त भएको छ । त्यहाँ रहेका १० वटै नियोगहरू, हाम्रा सरकारी निकाय, नेपाली समुदाय लगायतसँग नजिकको सम्बन्ध र सम्पर्कमा रहेको नियोगहरूबाट त्यहाँ घटेका घटनाहरू, सरकारी निकायबाट जारी सूचनाहरू, ट्राभल एड्भाइजरीहरु लगायतका विषयमा निरन्तर रूपमा मन्त्रालयमा प्रतिवेदनहरू प्राप्त भइरहेको छ । यतिधेरै नेपाली नागरिकको सुरक्षासँग जोडिएको समस्याको समाधानको लागि नेपाल सरकारले इमरजेन्सी रेस्पोन्स टिम गठन गरेको ब्यहोरा यहाँहरूमा अवगत नै छ । परराष्ट्र सचिवज्यूको संयोजकत्वमा गठित उक्त टोलीमा विभिन्न मन्त्रालयका प्रतिनिधिज्यूहरू रहनुभएको छ । यस टोलीको गठनबाट यस विषयमा अझ प्रभावकारी काम गर्न सकिने अपेक्षा रहेको छ ।’

उनले इरान–अमेरिका र इजरायल द्वन्द्व प्रभावित नागरिकको सुरक्षाको विषयमा सरकार गम्भीर भएर लागिरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =