रुपन्देही–२ का कांग्रेस उम्मेदवार पौडेलको दाबी– ‘हामी अवश्य जित्नेछौँ’

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देही–२ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलले मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको दाबी गरेका छन् । उनले आफू विजयी हुने दृढ विश्वाससमेत व्यक्त गरेका छन् ।

चुनावी सभा, घरदैलो कार्यक्रम तथा जनसम्पर्क अभियानका क्रममा मतदातासँगको संवाद अत्यन्त सकारात्मक रहेको पौडेलको भनाइ छ । उनले क्षेत्रमा अभूतपूर्व उत्साह देखिएको दाबी गर्दै भने, “यो क्षेत्रमा देखिएको जोश र सकारात्मक ऊर्जा देखेर म अति प्रेरित छु । मतदाताबाट उत्साहजनक साथ पाएको छु र विश्वासका साथ भन्छु— हामी अवश्य जित्नेछौँ ।”

रुपन्देही–२ लाई राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिन्छ । यहाँ एमालेका अनुभवशाली नेता विष्णुप्रसाद पौडेल सहित विभिन्न दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो समर्थन कांग्रेस उम्मेदवार पौडेललाई दिने निर्णय गरेपछि चुनावी समीकरण थप रोचक बनेको छ । राप्रपाको समर्थनले वैकल्पिक मतलाई एकीकृत गर्ने सम्भावना बढेको विश्लेषण गरिएको छ ।

पौडेल समाजसेवी एवम् उद्योगी पृष्ठभूमिका उम्मेदवार हुन् । उनले युवा, महिला तथा व्यवसायी समुदायबीच सक्रिय रूपमा घरदैलो, सभा र जनसम्पर्क कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले रोजगारी सिर्जना, आधारभूत पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनका प्रमुख चुनावी एजेन्डामा रोजगारी सिर्जना, कृषि विकास, युवाहरूका लागि सीपमूलक तालिम, स्थानीय उद्योग प्रवर्द्धन तथा पूर्वाधार निर्माण रहेका छन् । उनले भने, “रुपन्देही–२ का बासिन्दाका अपेक्षा र आवश्यकता मलाई राम्ररी थाहा छ । शिक्षा, स्वास्थ्य, यातायात र कृषि सुधार नै यस क्षेत्रको मूल आधार हो। यी सबैलाई प्राथमिकतामा राखेर काम गर्ने वाचा गरेको छु ।”

फागुन २१ गते हुने निर्वाचनमा जनताले निर्णायक मत दिनेछन् । कडा प्रतिस्पर्धाबीच रुपन्देही–२ को अन्तिम नतिजा नजिकबाट हेरिने अनुमान गरिएको छ । कांग्रेसका पौडेलले स्थानीय विकास र समृद्धिका योजनालाई अगाडि बढाउने प्रतिबद्धतासहित आफ्नो विजय लक्ष्य पूरा गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =