सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियो: केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।
सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकार गठनका समयमा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्षयीकरण हुँदै गएको बताएका हुन् ।
सरकारले अघि सारेका सय बुँदे कार्यक्रममध्ये झन्डै ३७–३८ बुँदाभन्दा बढी कार्यान्वयनमा आउन नसकेको दाबी गरे । उनले बाँकी विषयहरू शून्य अवस्थामा रहेको उल्लेख गरे । लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि विधिसम्मत हुनुपर्नेमा जोड दिँदै नेता केसीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रियालाई निरन्तर बेवास्ता गरेको आरोप लगाए ।
नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जबाफदेहितामाथि प्रश्न पनि उठाए । प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा आधिकारिक हुने स्मरण गराउँदै उनले जेठ १७ गतेदेखि उठिरहेका प्रश्नहरूको पाँच हप्तासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताए ।
प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटि सच्याउनुपर्नेमा त्यसो नगरेर संसद्को अपमान गरेको उनको भनाइ छ ।








