अतिवादलाई अनुमोदन नगर्न मतदातासँग प्रदीप पौडेलको आह्वान

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले अतिवादलाई अनुमोदन नगर्न मतदातासँग आह्वान गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । निर्वाचनको चार दिनअघि मतदातालाई सम्बोधन गर्दै पौडेलले यो निर्वाचन अतिवादको बाटोमा जाने कि सबैलाई समन्वय गरेर देश अगाडि बढाउने भन्ने जनमत संग्रह भएको दाबी गरे ।

आगामी निर्वाचनले नेपाललाई स्थिरता, शान्ति र संविधान कार्यान्वयनको बाटोमा लैजाने कि अस्थिरता र थप संकटतिर धकेल्ने भन्ने गम्भीर फैसला गर्ने उनको भनाइ छ । उनले नेपाली काँग्रेसले नेपालमा अतिवादलाई संस्थागत हुन नदिने र लोकतन्त्रको पैरवी गर्दै नागरिकको अधिकारका लागि लामो समयदेखि लड्दै आएको स्मरण गराए ।

पछिल्लो समय युवा पुस्ताले गरेको जेनजी आन्दोलनले मुलुकमा धेरै कुरा परिवर्तन गरेको र काँग्रेसले त्यसलाई आत्मसात गरेको पौडेलले बताए । उनले राजनीतिमा को कहिले जन्मियो भन्ने आधारमा मात्र पुरानो नभइने भन्दै काँग्रेस विचार र एजेण्डाका हिसावले नयाँ र स्पष्ट भएर मैदानमा आएको दाबी गरे ।

पौडेलले ३० औं वर्षसम्म एउटै नेतृत्व रहने प्रवृत्तिको अन्त्य गर्न काँग्रेसले एउटा व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था आफ्नै पार्टीबाट शुरु गरेको र यसलाई संविधानमै बाध्यकारी बनाउन चाहेको बताए ।

सुशासन र पारदर्शिताका सन्दर्भमा उनले २०४६ सालपछि राज्यका विभिन्न ओहदामा पुगेका व्यक्तिहरूको सम्पती छानबिन हुनुपर्ने माग काँग्रेसले नै अगाडि सारेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =