मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली-उद्धारको लागि ‘पर्ख र हेर’को रणनीतिमा सरकार

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिए ।
मन्त्रालयले आइतबार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उनले जानकारी दिए । जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ ।
खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु गरेको जानकारी दिए । दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ । उनले आइतबार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उनले जानकारी दिए । उनकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीँ छन् । इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् ।
उनले भने ‘खासगरि यतिखेरको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपाल सरकारको उच्च प्राथमिकतामा मध्य पूर्वमा रहेका नागरिकहरूको सुरक्षा रहेको छ । यसको लागी हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ । मध्यपूर्वको इरानमा १० जना नेपाली थिए, त्यसमा ४ जना फर्किसकेका छन्, ६ जना हुनुहुन्छ । इजरायलमा करिब ६ हजार ५ सय हुनुहुन्छ । इजिप्टमा ५ सय हुनहुन्छ, इजिप्टमा प्रभाव छैन तर जोर्डन प्रभावित देखिन्छ । ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेटमा लगभग ७ लाख, लेभलानमा १ हजार ४ सय, इराकमा ३० हजार र साईप्रसमा १७ हजार गरी करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् । सरकारले उनीहरूलाई सुरक्षित रहनको लागी ट्राभल एड्भजारी जारी गरेको छ । मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूको ह्वाट्सएप ग्रुप बनाएका छौँ । त्यहाँका गतिविधिहरू ग्रुपमा अपडेट गर्ने गरिएको छ । नेपालीहरूले भोगेको समस्याको पनि त्यहाँ अपडेट हुने गरेको छ । त्यसैगरि कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्नको लागि र नेपालीहरूको अवस्थाको जानकारीको लागि रजिष्ट्रेसन प्लेटफर्म विकास गर्ने कामको थालनी भएको छ । यो भोलीसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरूको वेबसाइटमा हामी त्यसलाई राख्नेछौँ । त्यसले नेपाली नागरिकलाई आफ्नो डाटा राख्न सजिलो हुन्छ । कन्सुलर सेवा विभागले एपको पनि विकास गरेको छ । सँगै आज मुख्यसचिवज्यूको नेतृत्वमा सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा बैठक बसेको थियो । बैठकले परराष्ट्र मन्त्रालयको सचिवको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहनेगरि आकस्मिक उद्धार टिम गठन गर्ने निर्णय गरिएको छ । उद्धारको सन्दर्भमा युद्धको कस्तो अवस्था रहन्छ, लामो समय जाने अवस्थामा छिमेकी मुलुकहरूले लिने कदम, सम्बन्धित मुलुकहरूले देखाउने तत्परताको समयको अवस्थालाई हेरेर उद्धारको रणनीति लिनुपर्ने हुनसक्छ भन्ने मन्त्रालयको बुझाई छ । यो इमरजेन्सी टाकफोर्सको चाहिँ स्थायी संरचना नै बनाउन आवश्यक छ । किनभने ठुलो संख्यामा नेपालीहरू बाहिर हुनुहुन्छ, । उहाँहरूलाई कुनैपनि समय यो पर्न सक्छ । यसलाई नेपाल सरकारले नै निर्णय गरेर स्थायी पूर्ण अधिकारहितको संरचना बनाउन आवश्यक छ ।’
मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए । उनकाअनुसार मध्यपूर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन् । ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दूतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन् । उनले नेपालमा रहेका आफन्तलाई पनि अनावश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसँग सम्पर्कमा रहन आग्रह गरे ।
उनले भने ‘अहिलेसम्म प्राप्त सूचना र जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित हुनुहुन्छ । मध्यपूर्वमा रहेका विभिन्न मुलुकका १० वटा नेपाली नियोगहरू त्यहाँ रहेका नेपाली समुदायहरूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ, उहाँहरूको अवस्था बुझिरहनु भएको छ र मन्त्रालयमा रिर्पोट गरिराख्नुभएको छ । हाम्रा नियोगहरू मध्येपुर्वमा रहेका विभिन्न मुलुकका सरकार र आधिकारिक निकायसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । मध्यपूर्वमा रहनुभएका नेपालीहरूलाई म निवेदन गर्न चाहन्छु, तपाईँहरू नआत्तिनुहोला, आफूलाई सुरक्षित राख्नुहोला । आफन्तहरूसँग निरन्तर सम्पर्कमा रहनुहोला । स्थानीय सरकारहरूद्वारा जारी गरिएका अधिकाधिक सूचनाहरू थाहा पाइराख्नुहोला । दूतावास र पराष्ट्रमन्त्रालयसँग निरन्तर सम्पर्कमा रहनुहोला ।’
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए । उनले सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताए ।
नेपालले कूटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।








