अधुरा काम पूरा गर्न र जनकपुरलाई ‘वेडिङ हब’ बनाउन मेरो उम्मेदवारी: जुलीकुमारी महतो

काठमाडौँ । नेकपा एमालेकी नेतृ एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महतोले आफ्नो अधुरा सपना र सुरु गरिएका विकास निर्माणका कामहरूलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताएकी छन् ।

चुनावी प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रका ३८ वटै वडाका मतदाताहरूसँग भेटघाट गर्दै उनले अघिल्लो कार्यकालमा सुरु भएका ठुला आयोजनाहरूलाई तार्किक निष्कर्षमा पुर्याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेकी हुन् ।

उम्मेदवार महतोले आफ्नो कार्यकालको सबैभन्दा ठुलो उपलब्धिका रूपमा जनकपुरधाम चक्रपथ (रिङ रोड) लाई अगाडि सारे । त्यस्तै, माता सीता र भगवान् रामको स्वयंवर भएको पवित्र भूमिलाई विश्वकै प्रमुख ‘म्यारिज हब’ (विवाह गन्तव्य) का रूपमा विकास गर्ने योजना उनले सुनाए । यसका लागि नीति तथा कार्यक्रममा समेत समावेश भइसकेको र अब प्रभावकारी कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ ।

बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनमा ल्याउन अध्ययन समिति बनेको जानकारी दिँदै उनले यसलाई रोजगारीको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले मधेस प्रदेशमा सिँचाइका साथै खानेपानीको दीर्घकालीन समाधानका लागि कोसी नदीको पानी विस्तार गर्नुपर्नेमा जोड दिए ।

अहिलेको निर्वाचन केवल सांसद वा मन्त्री बन्नका लागि मात्र नभई संविधानलाई सही ट्र्याकमा ल्याउन र लोकतन्त्रको रक्षाका लागि भएको महतोको दाबी छ । अन्य उम्मेदवारहरू चुनावका बेला मात्रै आउने गरेको आरोप लगाउँदै उनले आफू वर्षको ४०–४५ दिन जनताकै घरदैलोमा बिताउने गरेको र समस्या बुझेर काम गर्ने गरेको बताए ।

उनले भने ‘एउटा मेरो सपना थियो, जनकपुर धाममा एउटा चक्रपथ रिङ्ग रोड बनेको जुन शिलान्यासको काम अगाडि बढ्यो चक्रपथ काठमाडौँको लम्बाई भन्दा बढी जनकपुर धामको लम्बाई छ झन्डै ३२.५ किलोमिटर ३२.७ किलोमिटरको डिपीआर तयार गरेका थियौँ र अहिले नै हामी डिपीआर तयार गर्नको लागि शिलान्याससम्म लैजानको लागि पाँच, ६ वर्ष ०७४ देखि नै हामी यसमा लागेका थियौँ र सफल भयौँ । दोस्रोमा माता जानकी जीको नगरी सहर पवित्र भूमिमा माता सीता र रामको स्वयंवर भएको नगरमा विश्वमा यो चिजको मान्यता रहेको छ ।

पर्यटनको रूपमा विस्तार गरी यो तरिकाको जनकपुर धाम बनाउने म्यरेज हब र म्यरेज गन्तव्यको रूपमा विस्तार गर्ने नीति तथा कार्यक्रममा प्रवेश गराइसकेका छौँ र यसको कार्यान्वयन गर्ने काम बजेटको थियो । बजेट अहिले कार्यान्वयन भएन यो सबैलाई जानकारी छ ।’

जनकपुरको १२ बिघाको सौन्दर्यीकरण, राम जानकी रङ्गशालाको निर्माण र वडा स्तरसम्म खेलकुद मैदानको विस्तार आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

महिला उम्मेदवारका रूपमा आफूलाई मतदाताले दिएको साथ र आशीर्वादले अधुरा काम पूरा गर्ने ऊर्जा मिलेको भन्दै उनले सूर्य छापमा मतदान गर्न अपिल समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =