रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेललाई राप्रपाले समर्थन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले यस्तो घोषणा गरेको हो ।
राप्रपाले फागुन २१ गते हुने आम निर्वाचनमा देशभर प्रतिनिधि सभा सदस्य उम्मेदवारहरू उठाएकोमा रुपन्देही क्षेत्र २ मा उम्मेदवारको केही प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली काँग्रेस सँग ऐजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नं. २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र क्षलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ती र आम जनसमुदायमा जानकारी गराउँदछौँ ।’
काँग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ ।
साथै पार्टी पंक्ती र आम जनसमुदायलाई प्रत्यक्षमा नेपाली काँग्रेसको उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) लाई रुख चिन्हमा र समानुपातिकमा राप्रपा को हलो चिन्हमा मतदान गर्न समेत आग्रह गरिएको छ ।









