यूएईका नेपालीलाई दूतावासको ‘अलर्ट’ : सामाजिक सञ्जालमा जथाभावी पोस्ट गरे जेल सजाय हुनसक्छ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित पछिल्लो घटनाक्रमका बीच त्यहाँस्थित नेपाली दूतावासले नेपाली समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत कुनै पनि प्रकारका भ्रामक, अपुष्ट र नकारात्मक सन्देश प्रवाह नगर्न सचेत गराएको हो ।

दोस्रो ‘एड्भाइजरी’ जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट प्राप्त भएका सूचना वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्रीहरू सेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका अपुष्ट भिडियो तथा फोटोहरू भाइरल भइरहेको सन्दर्भमा यसले सुरक्षा संवेदनशीलता बढाउन सक्ने र अन्योल सिर्जना गर्ने भन्दै दूतावासले यस्तो कदम चालेको हो ।

‘अपुष्ट सामग्रीहरू प्रसारण वा प्रकाशन गर्दा स्थानीय सुरक्षा अवस्थाबारे भ्रम र सन्त्रास सिर्जना हुन सक्छ,’ दूतावासको सूचनामा उल्लेख छ, ‘यसका साथै परिस्थितिसम्बन्धी फोटो र भिडियो खिचेर पोस्ट गर्दा पूर्ण जिम्मेवार बन्नु पर्दछ ।’

यूएईको स्थानीय कानुनअनुसार अफवाह फैलाउने वा सामाजिक अस्थिरता निम्त्याउने खालका गतिविधि दण्डनीय हुने भएकाले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ । दूतावासले विकसित परिस्थितिबारे आधिकारिक र सत्य जानकारी प्राप्त गर्नका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट र आधिकारिक सूचनाहरूलाई मात्र आधार मान्न सुझाव दिएको छ ।

यसअघि पनि दूतावासले पहिलो सूचना जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको थियो । सामाजिक सञ्जालको दुरुपयोगले व्यक्तिगत समस्या मात्र नभई समग्र समुदायकै छवि र सुरक्षामा असर पार्न सक्ने भएकाले अत्यन्तै संयमित रहन दूतावासले पुनः अपील गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =