रास्वपा कर्णालीका महामन्त्रीसहित नेताहरु कांग्रेस प्रवेश

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो सांगठनिक धक्का लागेको छ । रास्वपाको प्रादेशिक संरचनाका मुख्य खम्बा मानिने नेतृत्व तहका नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाली कांग्रेसको झण्डामुनि गोलबद्ध भएका हुन् ।

आइतबार बिहान सुर्खेतमा आयोजित एक समारोहका बीच रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेश महामन्त्री र प्रदेश राजधानी समेत रहेको सुर्खेत जिल्लाका कार्यवाहक सभापति नै पार्टीबाट बाहिरिएपछि रास्वपाको कर्णाली संगठनमा ठूलो रिक्तता र हलचल पैदा भएको छ । बिक र बस्नेतसँगै रास्वपाका दर्जनौँ सक्रिय नेता तथा कार्यकर्ताहरूले पनि ‘घण्टी’ छाडेर ‘रुख’ चिह्न रोजेका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उपसभापति शर्माले मुलुकको लोकतान्त्रिक आन्दोलन र विकासका लागि कांग्रेसको विकल्प नरहेको भन्दै युवा र अनुभवी नेतृत्वको आगमनले पार्टीलाई थप उर्जावान बनाउने विश्वास व्यक्त गरे । निर्वाचनको सम्मुखमा भएको यो राजनीतिक ध्रुवीकरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =