गगनलाई सभापति नमान्ने भनेर बहस गरिएको छैनः महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले गगन थापालाई सभापति नमान्ने भन्ने कुनै बहस पार्टीभित्र नभएको दाबी गरेका छन् ।

नुवाकोट–१ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले पार्टीभित्र महाधिवेशनको मितिबारे मात्र बहस भएको स्पष्ट पारे । ‘कांग्रेसका विवाद थियो, बहस थियो भन्ने लागेको छ । यो ठुलो पार्टी हो, यहाँ कैयौँ पुस्ता छन्,’ उनले भने, ‘यहाँ बहस पनि हुन्छ, विवाद पनि हुन्छ । फेरि हामी समाधान पनि निकाल्छौँ । हिजो अधिवेशन नियमित निर्वाचनपछि गर्ने कि अगाडि गर्ने भन्ने बहस थियो ।’

उनका अनुसार उक्त विषयमा स्वतःस्फूर्त रूपमा कसैले अगाडि, कसैले पछाडि भन्ने धारणा राख्दै स्वच्छ बहस गरेका थिए । ‘अहिले विशेष महाधिवेशनले गगन जीलाई सभापति निर्वाचित ग¥यो । नयाँ कमिटी निर्वाचित ग¥यो,’ उनले भने । त्यसपछि निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत उक्त निर्णयलाई कायम गरेको उनले उल्लेख गरे ।

‘त्यस कारण यसलाई हामी मान्दैनौँ भन्ने बहस पार्टीमा छैन । त्यस कारण यसमा कुनै पनि द्विविधा नराख्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ महतले भने ।

आगामी दिनमा कांग्रेस एकताबद्ध भएर अघि बढ्ने र पार्टीभित्रका विषय छलफलबाटै टुंग्याइने उनले बताए । विपक्षीले अनावश्यक अन्योल सिर्जना गर्न खोजेको दाबी गर्दै उनले मतदातालाई त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =