रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
चुनावी अभियानका क्रममा रोल्पाका ७२ वटै वडामा पुग्दा देखिएको जनलहरले विपक्षीहरूलाई चुनौती दिएको उनले बताएका हुन् ।
पुनले चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरूसँग स्वस्थ र मर्यादित प्रतिस्पर्धा गर्न चाहेको बताए ।
‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढंगले सहकार्य गरेका छौँ ।’ उनले भने ‘जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’
सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिने सङ्कल्प
देशको वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै पुनले सुशासन र समृद्धिको एजेण्डालाई मुख्य प्राथमिकतामा राखेको बताए ।
उनले भने ‘एकातिर सिंहदरबार जलाउने र देश विध्वंस गर्नेहरू छन् भने अर्कोतिर जेन–जी आन्दोलनकारी नवयुवाहरूको शान्तिपूर्ण मागमाथि गोली चलाउने र दमन गर्नेहरू छन् । हामी यी दुवै प्रवृत्तिका विरुद्धमा छौँ ।’
उनले पार्टीका संयोजक पुष्पकमल दाहाल नेतृत्वको १८ महिनाको सरकारले भ्रष्टाचारका ठुला फाइलहरू खोल्दा बिचौलिया र भ्रष्टाचारलाई संस्थागत गर्नेहरूले सरकार ढालेको आरोप समेत लगाए । युवाहरूले स्वदेशमै रोजगारी पाउनुपर्ने आफूहरूको स्पष्ट अडान रहेको बताए । उनले आफूहरू सुशासन, शान्ति र समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको बताए ।
‘हामी सुशासन, शान्ति, समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा छौँ । युवाहरूले स्वदेशमै रोजगारी पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ ।’उनले भने ।
नयाँ विचार र नेतृत्वसहितको नेपाली कम्युनिष्ट पार्टी
२५ वटा पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी विचार, राजनीति र नेतृत्वका हिसाबले नयाँ पार्टी भएको पुनको दाबी छ । उनले गणितीय रूपमा कमजोर हुँदा दुई ठुला पार्टीहरूले अप्राकृतिक गठबन्धन गरेको भन्दै अबको निर्वाचनबाट आफ्नो पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरे ।
जेन–जीका भावना र राष्ट्रिय स्वाधीनताको एजेण्डा
नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्नु आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको पुनले बताए ।
‘हामी जनताको जनमतबाट जेन्जीका सकारात्मक माग र भावनाहरूलाई सम्बोधन गर्छौँ । राष्ट्रियता, समृद्धि र सुशासनका एजेन्डाहरूलाई अगाडि बढाउने सामर्थ्य हामीसँग छ ।’ उनले भने ।
निर्वाचनमार्फत देशको सबैभन्दा ठुलो र निर्णायक पार्टी हुने हैसियत आफ्नो पार्टीले राख्ने उनको जिकिर छ ।
रोल्पाको विकासको प्रमाण र समाजवादको मोडल
रोल्पाको विकासमा विगत २० वर्षमा आफ्नो पार्टीले गरेको योगदानको चर्चा गर्दै पुनले सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका कामहरू नै आफ्नो विजयको आधार भएको बताए ।
‘हामीले के गर्यौँ भन्ने कुराको प्रमाण रोल्पाका गाउँगाउँमा छन् । कृष्णबहादुर महरा, ओन्सरी घर्ती लगायतका नेताहरूले सुरु गरेका कामलाई म निरन्तरता दिनेछु ।’ उनले प्रतिबद्धता जनाए ।
उनले रोल्पालाई अब केवल क्रान्तिको थलो मात्र नभई समृद्धि, विकास र सुशासनको एउटा ‘मोडल’ बनाएर समाजवादतिर उन्मुख गराउने सङ्कल्प गरे । रोल्पाली जनताको स्वाभिमानलाई उच्च बनाउनु र रोल्पालाई समृद्धिको नमुना बनाउनु आफ्नो र नेकपाको मुख्य प्रतिबद्धता भएको बताए ।










