रास्वपा नयाँ पार्टी होइनः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ पार्टी नभएको टिप्पणी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा र त्यसका नेताहरूले आफूलाई नयाँ भन्दै प्रचार गरे पनि यसअघि नै सांसद र मन्त्री भइसकेको स्मरण गराउँदै उपलब्धिमूलक काम गर्न नसकेको दाबी गरे ।

‘घण्टी बजाउँदै आएको दल पनि आफूलाई नयाँ भन्छ, त्यो नयाँ होइन,’ उनले भने, ‘त्यसको सभापति उपप्रधान तथा गृहमन्त्री भइसकेको हो । त्यसकारण त्यो दल नयाँ होइन ।’ उनले गृहमन्त्री हुँदा सहकारी प्रकरणमा मुछिएको विषयसमेत उल्लेख गर्दै जीवी राईलाई पक्राउ गर्न किन नसकिएको भनी प्रश्न गरे ।

‘कति पटक गृहमन्त्री भएपछि जीवीलाई पक्रेर ल्याउने त?’ उनले प्रश्न गरे, ‘जीवीलाई पनि बदनाम मात्र गरिएको जस्तो लाग्छ । को हो जीवी राई, कहाँ गयो ? केही गर्दैनन् । त्यही पार्टीका सांसदले किसान, गरिब र दुःखीको पक्षमा बोले ? पुरानैजस्तो गठबन्धन गर्दै प्रधानमन्त्री र गृहमन्त्री दे भनेर रोइलो मात्र गर्ने हो। पहिल्यै चाख्दा टर्रो भयो ।’

साम्पाङले गफले मुलुक नबन्ने जिकिर गर्दै आफ्नो पार्टी श्रम गर्ने पार्टी भएको दाबी गरे । ‘श्रम संस्कृति पार्टी श्रम गर्ने पार्टी हो, श्रमले मात्र मुलुक बन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =