आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रूपमा उदाउनुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रूपमा उदाउनुपर्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले शुक्रवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गरेका हुन् ।
आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेहरुबीचको जनमत सङ्ग्रहको रूपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउन लागि परेको समेत बताए । उनले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोसिस गरिरहेको पनि बताए ।
नेता पोखरेलले भने ‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्त्वपूर्ण जनमत सङ्ग्रहको रूपमा लिनुपर्छ जस्तो लाग्छ । त्यो जनमत सङ्ग्रह भनेको देश बनाउनेहरू र बिगार्नेहरुबीचको जनमत सङ्ग्रह हो । त्यसकारण नेकपा ९एमाले०ले देश बनाउनेहरूको प्रतिनिधित्व गर्छ । र देश बिगार्नेहरू पनि छन् । र तिनीहरू पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोसिस गरेका छन् । तर हाम्रो कोसिस, नेकपा एमालेका कोसिस के भने भने देश बनाउनेहरूले निर्णायक शक्तिको रूपमा आउनु पर्छ । हामी यो निर्वाचनलाई त्यो परिणाममा पुर्याउन चाहन्छौँ ।’
त्यस अवसरमा नेता पोखरेलले आफू काठमाडौँ क्षेत्र नम्बर ५ बाट विजयी हुने सुनिश्चित भएको दाबी समेत गरे ।








