प्रचण्डको दाबी: काँग्रेस-एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरू काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।

शुक्रवार नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन् ।

अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रूपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ । उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधीनताको रक्षा र जनहितको पक्षमा काम गर्न सक्ने जिकिर पनि गरे । उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे ।

उनले भने ‘नेपाली कम्युनिष्ट पार्टी मात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानको रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारको रूपमा देखा परेको छ । अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामी मात्रै आक्रामक ढङ्गले अगाडि बढेका छौँ । दिन प्रतिदिन नेपाली कम्युनिष्ट पार्टीप्रति यसले अगाडि सारेका, नीति, योजना र कार्यक्रमप्रति अनि हामीले गरेका प्रतिवद्धताहरुप्रति जनताको भरोसा र विश्वास बढ्दै गएको छ । अब आउने पाँच दिन हामीले युद्धस्तरमा खटेर जनतालाई घरघरमा गएर सम्झाउन सक्यौँ भने मैले भन्दै आएको छु नेकपाले मात्र मुलुकको स्वाधीनताको रक्षा र जनहितको पहरेदारी गर्न सक्नेछ । यो मात्र एक नम्बर पार्टी हो जसले निर्वाचनपछि देशको नेतृत्व गर्नेछ ।’

उनले नेकपाले निर्वाचनमा कुनैपनि दलहरूसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =