अपाङ्गतामैत्री सेवा प्रवाहमा बजेटको अभाव

काठमाडौँ । अपाङ्गता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले उनीहरूको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार, सेवा प्रदायकको क्षमता विकास र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाकी प्रतिनिधि सर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सेवा प्रवाहका लागि बजेट वृद्धि, क्षमता विकास र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताइन् । उनले स्वास्थ्य सम्बन्धी संरचनाहरूलाई क्रमशः अपाङ्गतामैत्री बनाउने काम भइरहेको बताइन् ।
उनले भनिन् ‘अपाङ्गता मैत्री हुनुपर्छ भन्ने कुरा कम्तीमा पनि सो क्षेत्रमा काम गर्ने सबैलाई हुनुपर्छ । कुनै पनि व्यक्तिले गेटबाट छिर्ने बित्तिकै उनीहरुमैत्री व्यवहार हुनुपर्यो । अब यो फाईनान्सियल च्यालेन्जको पार्टमा धेरैले सरकारलाई सहयोग गर्ने यो काम गर्न सकिन्छ पनि भन्नु भएको छ । अति अशक्त भएकाहरूलाई घरमा नै गएर सेवा दिँदा पनि फरक पर्दैन । आवश्यकताअनुसार उनीहरूलाई अस्पताल नै पुर्याएर पनि सेवा दिने काम गर्नु पर्दछ ।’
छलफलका क्रममा सहभागीहरूले अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधारका लागि सेवा प्रदायकलाई समावेशी सेवा प्रदान गर्न तालिम दिने, अपाङ्गतामैत्री पूर्वाधार विकास गर्ने, साङ्केतिक भाषा र ब्रेलजस्ता पहुँचयोग्य सामग्री उपलब्ध गराउने, तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकि प्रतिनिधि बाला राईले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार गर्ने र अभिभावकलाई लक्षित कार्यक्रम विकास भइरहेको जानकारी गराउँदै यस्ता पहलहरू सरकारसँग समन्वय गरेर अघि बढाउनुपर्ने बताइन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले सो सम्बन्धी जनचेतना फैल्याउनका लागि विद्यालय तहको शिक्षामा सुधार हुनुपर्नेमा जोड दिएको बताइन् ।
राईले भनिन् ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि सो सम्बन्धी अधिकार सुनिश्चित गर्नका लागि विद्यालय तहमा र विद्यालय बाहिरका समुदायमा पनि सो सम्बन्धी कार्यक्रमलाई अघि बढाइएको छ । यसले उनीहरुमैत्री सेवा प्रवाहमा सहजता थपिँदै जाने विश्वास लिइएको छ ।’
कार्यक्रममा अपाङ्गता भएका युवाहरूले यौन तथा प्रजनन स्वास्थ्य सेवामा आफूहरूले भोग्नु परेका समस्याहरू प्रस्तुत गरेका थिए ।








