धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिबद्धता

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् ।

चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे ।

जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीन वटा पालिकाहरूमा आफूले तीन वटा प्रसूति र तीन वटा बाल अस्पताल निर्माण गर्न चाहेको बताए । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैँ मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठुलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् । जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले यसलाई ‘स्पोट्र्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र) सँग जोडे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए । ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सारेका छन् । जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उनको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभई आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।

उनले भने ‘धनुषा क्षेत्र नम्बर ३ को लागि मैले भन्दै आइरहेको छु कि यस क्षेत्रमा चारवटा पालिका छन् । जनकपुरमा त अस्पताल सरकारी गैरसरकारी धेरै खुले । पहिले तपाईँ र म बाँकी तीन वटा पालिकामा जनकपुरभन्दा दक्षिण बाँकी तीन वटा पालिकाका मतदाताहरू खास गरी महिलाहरूका लागि र बालबालिकाहरूको लागि तीन वटा प्रसूति अस्पताल र तीन वटा बाल अस्पताल बनाउन चाहन्छु तीन वटा पालिकाहरूमा । त्यो मतदाताहरूलाई प्रत्यक्ष तपाईँको आवश्यकताको मैले महसुस गरिरहेको छु । त्यस्तै किसानहरूको लागि किसानहरूको लागि मल कारखाना खोल्न चाहन्छु । नेपालमै छैन । तर यो प्रदेश मधेस प्रदेश कृषि प्रधान देश हो तर मलको हाहाकार छ । त्यो पनि म गर्न चाहन्छु । त्यस्तै अर्को युवाहरूको रोजगारीको लागि यसमा पनि किसानले मल पनि पाउँछन् युवाहरूले रोजगारी पनि पाउँछन् यो मल कारखाना खोल्दा। अर्को मैले जनकपुरमै जो राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालाको यहाँ कथा भइरहेको छ । मोदीजीले तपाईँको एक सय करोडको घोषणा गर्नुभयो । कहाँ खर्च गर्ने भन्ने बारेमा धेरै दिनदेखि विवाद भयो । मैले पनि त्यसमा सक्रियता लिएर अग्रसरता लिएर जो स्टेडियम बनाउने कुरालाई मैले सहयोग गरिरहेको छु । जग्गा उपलब्ध भइसकेको छ स्टेडियमको नाममा लालपूर्जा बनिसकेको छ। यो जचुकालीको (जनकपुर चुरोट कारखाना) अगाडिमा । यहाँको उपमहानगरपालिका र मधेस प्रदेश सरकार दुइटै यसमा सहमति छ । नेपाल सरकार पनि सहमत छ । भारत सरकारको दूतावाससँग पनि कुराकानी गरिरहेको छु उनीहरू सकारात्मक छन् । म चाहन्छु त्यो अन्तर्राष्ट्रिय रङ्गशाला जनकपुरमा बनोस्। रङ्गशाला बन्नु भनेको युवाहरूको खेल शारीरिक रूपले पनि र मानसिक रूपले पनि बौद्धिक स्तर विकासको लागि पनि आवश्यक हुन्छ । त्यति मात्र होइन आजको जमानामा खेलकुद भनेको एउटा अर्थशास्त्र विषय भएको छ स्पोट्र्स इकोनोमी भन्छ त्यसलाई । अर्थशास्त्र विषय हो । यसले तपाईँको आर्थिक कारोबार हुन्छ युवाहरूलाई रोजगारी दिन्छ र यहाँ जनकपुरमा तपाईँको विकासको सम्भावनाहरू र व्यापारको सम्भावनाहरू खुल्ला हुन्छन् । त्यो काम पनि म गर्न चाहन्छु । धनुषाधामको जनै परेको छ । धनुषाधाममा रामजीले धनुष यज्ञ गर्दाखेरि धनुष भाँचिएको थियो। त्यसको एक टुक्रा धनुषाधाममा छ र त्यसको जति प्रचार प्रसार अन्तर्राष्ट्रिय रूपमा हुनुपर्ने हो त्यति भइरहेको छैन । म अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ताहरूलाई ल्याएर आमन्त्रित गरेर धनुषाधामलाई तपाईँको जानकी मन्दिर जस्तै अयोध्या धाम जस्तै विस्तारित रूपमा तपाईँको निर्माण गराउन चाहन्छु, ठुलो बनाउन चाहन्छु र त्यसमा तपाईँको त्यो भयो भनेदेखि धार्मिक पर्यटन मात्र होइन आर्थिक गतिविधि बढ्छ र त्यसैमा पनि रोजगारी सिर्जना हुन्छ । यस्ता कामहरू म गर्न चाहन्छु र सँगसँगै म के चाहन्छु भनेदेखि तपाईँको अब अरू थप कुराहरू पनि छ । थप कुराहरू छ । अब अर्को कुरा छ यहाँ बर्न हस्पिटल छैन । यो जलेको उपचारको लागि जलन उपचारको लागि बर्न हस्पिटलको लागि पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । प्रणालीलाई कार्यान्वयन गर्ने नै हुन्छ । म त्यसैको लागि प्रतिबद्ध भएर आउँछु त्यसैको लागि भोट हाल्नुस् ।’

जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महसुस गर्दै उनले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिबद्ध भएर आएको बताउँदै उनले मतदाताहरूलाई मतदान गर्न अपिल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =