उम्मेदवारले खाता नखाेलेपछि परिवारको बैंक खातामा आयोगको निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ ।

निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबारभन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो ।

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैंक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरूको बैंक खाताको कारोबारमा निगरानी बढाएको हो ।

केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए । उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उनकाे भनाइ छ ।

‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौं । त्यसका लागि सहायक प्रमु्ख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ । हामीले राष्ट्रबैंकलाई पत्राचार पनि गरेका छौँ’ उनले भने, ‘यदि उम्मेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने, हामीले उम्मेदवार र उम्मेदवारको परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौँ ।’

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गरे । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =