देउवा दम्पती देशबाहिर, दिल्लीमा के गर्दैछिन् आरजु ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिबेला भारतमा छिन् । उनी भारतमै रहेका बेला उनका पति, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने स्वास्थ्योपचारको कारण देखाउँदै बुधबार राति एक्कासि सिंगापुर प्रस्थान गरेका थिए । फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा देउवा दम्पती नै देशबाहिर रहेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमै आक्रमणमा परेपछि देउवा दम्पतीको स्वास्थ्य र सुरक्षा चासोको विषय बन्दै आएको थियो । उक्त घटनामा घाइते भएकी आरजुको सुरुमा सैनिक अस्पताल छाउनीमा उपचार गरिएको थियो भने शेरबहादुर देउवाको टाउकोमा चोट लागेको थियो । त्यसयताको असहज परिस्थितिपछि आरजु भारतमा छिन् भने शेरबहादुर देउवा आफ्ना स्वकीय सचिव भानु देउवालाई लिएर सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ मार्फत बुधबार राति ११ बजे सिंगापुर लागेका हुन् ।

पार्टीको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि देउवा दम्पती पार्टी राजनीतिमा निष्क्रिय जस्तै देखिएका छन् । आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव लड्ने इच्छा देखाएका देउवालाई नवनिर्वाचित सभापति थापाले टिकट दिएका थिएनन् । आफूलाई जोडबल गरेर अपदस्थ गरिएको भन्दै रुष्ट बनेका देउवाले अहिलेसम्म पार्टी र उम्मेदवारको पक्षमा भोटसमेत मागेका छैनन् । यद्यपि, डडेल्धुरालगायत केही स्थानमा कांग्रेस उम्मेदवारहरूले प्रचारप्रसारमा अझै पनि देउवाकै तस्बिर प्रयोग गरिरहेका छन् ।

यसअघि मतदानका लागि देउवा गृहजिल्ला डडेल्धुरा जान सक्ने अनुमान गरिएको थियो । तर, उनी सिंगापुर उडेपछि मतदानमा सहभागी हुने सम्भावना न्यून बन्दै गएको छ । डडेल्धुराबाट कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नैनसिंह महरले देउवाको स्वास्थ्यमा समस्या देखिएपछि सिंगापुर गएको जानकारी पाएको बताए । ‘उनी सिंगापुर गएको जानकारी पाएको छु, तर फर्किने मितिबारे मलाई केही थाहा छैन,’ महरले भने ।

देउवा सिंगापुर उडेको विषयमा उनको सचिवालय र पार्टीले कुनै औपचारिक जानकारी दिएका छैनन् । कांग्रेसका अर्का एक नेताले पनि निवर्तमान सभापति देउवा चुनावमा भोट माग्ने मुडमा नरहेको बताए । ‘उनी मतदानका लागि डडेल्धुरा जाने कुरा यकिन छैन, फागुन १९ मा फर्किने कि भन्ने चर्चा भए पनि टुंगो छैन,’ ती नेताले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =