प्राप्त उपलब्धिको रक्षाका लागि नेपाली काँग्रेस नेतृत्वको सरकार अपरिहार्य: उपसभापति भुसाल

काठमाडौँ । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली काँग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताएकी छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले यस्तो बताएकी हुन् ।

उनले पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञा पत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

उनले महिला, दलित र जनजातिलाई मुलुकको विकासको मूलधारमा ल्याउन नयाँ दृष्टिकोणसहित परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई मतदान गर्न समेत अपिल गरिन् । कानुन, नियम र संविधानभन्दा माथि कोही पनि नहुने शासन प्रणाली स्थापित नभएसम्म राजनीतिक उपलब्धिको संरक्षण गर्न नसकिने उल्लेख गर्दै उनले त्यसको लागि फागुन २१ को निर्वाचनपछि काँग्रेसको सरकार अनिवार्य भएको जिकिर गरे ।

उनले भने ‘हामीले पुस्तान्तरणको मुद्दालाई स्थापित गरिसकेका छौँ । कर्णाली क्षेत्रमै पनि नयाँ उम्मेदवारहरूलाई जनतामाझ पुर्याएका छौँ । भोलिको दिनमा प्रदेश र स्थानीय तहको निर्वाचनको उम्मेदवार पनि आउँदै गर्दा कुनैपनि मतदाताले प्रतिज्ञा पत्रमा लेखेका कुरा किन कार्यान्वयन भएनन् रु भनेर सोध्न नपरोस् । ती उम्मेदवार प्रतिनिधिहरूले शिर निहुराउन नपरोस् भनेर नेपाली काँग्रेसले सत्ताको बोगडोर सम्हाल्दै छ । अहिले महिला, दलित, जनजातिलाई मुलुकको विकासको मूलधारमा ल्याउनुपर्छ भनेर नयाँ दृष्टिकोणसहित आएका जसले परिवर्तनको नेतृत्व गरेर आउनुभएको छ । जबसम्म यो मुलुकका नेता तथा जनता कानुन, नियम र संविधानभन्दा माथि ठान्नु हुँदैन भन्ने किसिमको शासन प्रणाली स्थापित हुँदैन तबसम्म हामीले प्राप्त गरेका उपलब्धिहरू द्वन्द्व र राजनीतिक अस्थिरताले कमजोर नबनाओस् भनेर हामीले जेनजी आन्दोलनको मागहरूलाई सम्मान गरेका छौँ । सुशासन हाम्रो मूलमन्त्र हो । समृद्धि हाम्रो सपना हो । र भ्रष्टाचारमुक्त समाज हाम्रो प्रण हो भन्दै हामीले त्योलाई सम्मान गरेका छौँ ।’

उनले कर्णाली प्रदेशलाई विकासको केन्द्रमा राखी यहाँको पर्यटन तथा उत्पादनका लागि महत्त्वपूर्ण योजना समेत प्रस्तुत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =