मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य सर्त भएको बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे । उनले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताए ।

उनले केही तत्त्वहरूले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाए । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गरे ।

अगामी वर्षहरूमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहित काँग्रेस जनतासामु गएको जिकिर गर्दै उनले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंस हुन नदिने प्रतिज्ञा दोहोर्याए ।

उनले भने ‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । यो चुनाव यसरी आउँछ भन्ने हामी कसैले पनि सोचेका थिएनौँ । यो हाम्रो योजनाको चुनाव पनि होइन । यो चुनाव हाम्रो बाध्यता हो । तर यो चुनाव अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका निम्ति अनिवार्य सर्त पनि हो । योभन्दा अर्को विकल्प थिएन र छैन । त्यसकारण चुनाव घोषणा भएको दिनदेखि नै चुनावको परिणामको चिन्ता नगरीकन चुनावलाई सफल बनाउनको लागि नेपाली काँग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ । नेपाली काँग्रेसको एउटा प्रतिबद्धता छ, चुनावका बारेमा यताउता र केही संशयहरू सिर्जना गर्न खोजिएको छ । ती तमाम संशयहरूलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रूपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिबद्धताबाट नेपाली काँग्रेस एक इन्च पनि तलमाथि गर्दैन । फागुन २१ को चुनावको सन्दर्भ हामीले भाद्र २३ र २४ लाई बिर्सिएर हुँदैन । त्यो २३ र २४ भदौको घटनाले नै हामीलाई २१ फागुनको चुनावमा पुर्याएको हो ।’

उनले नेपाली काँग्रेसले जेन—जी आन्दोलनको अपनत्व लिइसकेको समेत जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =