बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीबार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् । बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गरे ।

उनले नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरू परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गरे । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यावसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए ।

उनकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यावसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ ।

उनले भने ‘कतिपय हाम्रा नियमक निकायहरू नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसाबले बनाइएको नितिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसाबले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन । फाईनान्सियल रूपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यावसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ । हामी क्षमताको हिसाबले सक्षम छौँ भने नेपालमा मात्रै यसको दायर बनाउनपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसको नियमन राम्रो गर्नुपर्छ । यसले नेपालको अर्थतन्त्रमा नै योगदान हुने भएकोले सोहीअनुसार कानुन बनाउनुपर्छ । बीमा कम्पनीहरूलाई नियामक निकायले हेर्ने एउटै दृष्टिकोण छ, त्यस्तो हुनु हुँदैन । चाहे बीमा प्रवर्द्धकका सञ्चालन अथवा बैंक तथा वित्तीय संस्थाका सञ्चालन भनौँ, यिनीहरू सबैले नाफा मात्रै खान खोज्छन्, यिनीहरूमा गलत मनसाय छ भन्ने देखिन्छ, त्यो कदापि होइन । कुनै एक जना व्यक्तिले बदमासी ग¥यो भने त्यो एक व्यक्तिले गरेको व्यक्तिगत बदमासीलाई सही हिसाबले बढाउन लागेको व्यावसायिक संस्था वा उनीहरूले बढाउन लागेको गतिविधि छ, त्यसमा पनि लगेर जोडिदिने चलन छ । त्यो गलत छ । नेपालभन्दा बाहिर व्यावसायिक गतिविधि बढाउनको लागि पनि नीतिहरू परिवर्तन गरेर बीमा कम्पनीहरूलाई विदेशमा गतिविधि बढाउने वातावरण तयार पार्न आवश्यक छ । यसमा बीमा प्राधिकरण काम गर्नेछ भन्ने विश्वास पनि लिएको छु । आर्थिक गतिविधि बढाउन सकियो भने त्यसले रोजगारी सिर्जना गर्न, राजश्वमा वृद्धि गर्न ठुलो योगदान हुन्छ ।’

अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने बताए । उनले आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानुन तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहोर्र्याए । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीबार आफ्नै नवनिर्मित भवनको उद्घाटन गरी सेवा शुभारम्भ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =