न्युजिल्यान्डको पुनरागमनसामु श्रीलंका निरिह, विश्वकपबाट बाहिरियो

काठमाडौं । घरेलु मैदानमा सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर-८ चरणबाटै टुंगिएको छ । बुधबार सम्पन्न निर्णायक भिडन्तमा न्युजिल्यान्डसामु ६१ रनले स्तब्ध बनेसँगै श्रीलंका एक खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
न्युजिल्यान्डले प्रस्तुत गरेको १६९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा श्रीलंकाली ब्याटरहरू सुरुवाती समयदेखि नै किवी बलरको दबाबमा परेका थिए । निर्धारित २० ओभर पूरै खेलेर पनि घरेलु टोलीले ८ विकेटको नोक्सानीमा १०७ रन मात्रै बोर्डमा जोड्न सक्यो । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ तथा दुनिथ वेलालगेले २९ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । कुसल मेन्डिस (११) र पवन रथ्नायके (१०) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन नसक्दा श्रीलंकाको इनिङ्स धराशायी बनेको थियो ।
श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका रचिन रविन्द्र नायक बने । अलराउन्ड प्रदर्शन गरेका उनले ४ ओभरमा २७ रन मात्र खर्चेर ४ महत्त्वपूर्ण विकेट आफ्नो पोल्टामा पारे । त्यस्तै, म्याट हेनरीले कसिलो बलिङको नमुना पेस गर्दै २ ओभरमा १ मेडनसहित जम्मा ३ रन दिएर २ विकेट लिए भने कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सको नाममा १-१ विकेट रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डको सुरुवात पनि सुखद थिएन । एक समय जम्मा ८४ रनको स्कोरमा ६ विकेट गुमाएर चरम दबाबमा परेको किवी टोलीलाई कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले उद्धार गरेका थिए । यी दुई ब्याटरबीच सातौँ विकेटका लागि भएको ८४ रनको उत्कृष्ट साझेदारीले टोलीलाई बलियो योगफलसम्म पुर्यायो । सान्टनरले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ४७ रन जोडे भने मेकोन्ची २३ बलमा ३१ रन बनाएर अविजित रहे। त्यसअघि रचिन रविन्द्रले ३२, फिन एलेनले २८ र ग्लेन फिलिप्सले १८ रन जोडेका थिए ।
श्रीलंकाका तर्फबाट महीश थिक्साना र दुश्मान्था चमीराले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिए पनि डेथ ओभरमा रन नियन्त्रण गर्न नसक्नु टोलीको हारको मुख्य कारण बन्यो ।








