देउवाको मौनतामाथि कांग्रेसभित्र चासो, चुनावी परिणामले विशेष महाधिवेशनको औचित्य जाँचिने संकेत

काठमाडौँ । नेपाली कांग्रेस चुनावी अभियानमा सक्रिय रूपमा होमिएको बेला पूर्वसभापति शेरबहादुर देउवाको मौनताबारे दलभित्र चासो बढ्दो देखिएको छ ।

पार्टीको ‘मत वृद्धि, साख वृद्धि र उम्मेदवार विजयी बनाउने’ समान दायित्व सबै नेताको हुने बताउँदै आएका कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावअघि देउवाबाट अपिल गराउने बताएका थिए । तर अहिलेसम्म त्यसबारे औपचारिक पहल देखिएको छैन ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति गगन थापाले देउवासँग पटक–पटक भेटेर पहल गरेको दाबी गर्दै अझै समय बाँकी रहेको बताएका छन् । “पहल नभएको होइन, तर सक्रियता किन देखिएन भन्ने मैले पनि बुझेको छैन,” केसीले भने ।

विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएपछि निर्वाचन आयोगले मान्यता दिएको थियो । तर देउवा निकट नेताहरू भने आन्तरिक विवाद सार्वजनिक रूपमा उठाउने बेला नभएको बताउँछन् । सभापति पक्षले देउवालाई चुनावी अभियानमा सहभागी गराउन पर्याप्त पहल नगरेको आरोप छ ।

वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहालले सहयोग लिने वातावरण बनाउने जिम्मेवारी विशेष महाधिवेशन पक्षधर नेतृत्वकै भएको टिप्पणी गर्छन् । उनका अनुसार देउवालाई सार्वजनिक रूपमा पाखा लगाएर फेरि चुनावमा साथ माग्नु व्यवहारिक रूपमा कठिन हुन्छ ।

यता, थापा निकट नेताहरू भने देउवामाथि अपमानजनक व्यवहार भएको दाबी अस्वीकार गर्छन् । प्रवक्ता चालिसे नेतृत्व परिवर्तनलाई स्वाभाविक राजनीतिक प्रक्रिया बताउँदै कसैको व्यक्तित्वविरुद्ध आक्षेप नभएको जिकिर गर्छन् ।

कांग्रेसभित्र देखिएको ध्रुवीकरणले चुनावी परिणाममा प्रभाव पार्ने आँकलन भइरहेको छ । ४० सदस्यीय प्रदेश सभाहरू र प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । ‘१०० सीट पार’ र ‘गगन सरकार’को नारा अघि सारिएको छ ।

विश्लेषकहरूका अनुसार यदि अपेक्षित नतिजा नआए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ । दाहालका शब्दमा, “१०० सीट नाघेन र सरकार पनि बनेन भने विशेष महाधिवेशनको औचित्य सिद्ध गर्न कठिन हुन्छ ।”

यद्यपि प्रवक्ता चालिसे र नेता केसी दुवैले सीट संख्या र मत परिणामलाई विशेष महाधिवेशनसँग सीधा जोड्न नहुने तर्क गर्छन् । उनीहरूका अनुसार नेतृत्व परिवर्तनपछि संगठनमा नयाँ उत्साह र जीवन्तता आएको छ ।

चुनाव उत्कर्षतर्फ उन्मुख भइरहँदा कांग्रेसभित्रको अन्तर्विरोध भने थप पेचिलो बन्न सक्ने संकेत देखिएको छ । देउवाको मौनता, नेतृत्व पक्षको रणनीति र सम्भावित अन्तर्घातका आरोप–प्रत्यारोपले चुनावपछि पार्टीभित्रको शक्ति–सन्तुलन फेरि बहसको केन्द्र बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =