पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त

काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्य पदबाट पदमुक्त भएका छन् ।
शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए । त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
नेकपाले निष्कासन गरेको जानकारी प्रदेश सभालाई दिएपछि कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा सांसद पदबाट पदमुक्त भएको जनाएको छ । नेकपा संसदीय दलको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको हो ।
उनीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र प्रदेश सभामा दर्ता भएको थियो । निर्वाचित भएको दलले निष्कासन गरेको जानकारी गराएपछि सांसद पद स्वतः समाप्त हुने कानुनी व्यवस्था अनुसार उनी पदमुक्त भएको सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट रुकुम (पश्चिम) १ ‘ख’बाट निर्वाचित भएका थिए। उनले २० हजार १६० मत प्राप्त गरेका थिए ।
उनी २०७९ पुस २७ देखि २०८० चैत २१ गतेसम्म कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा अब ३९ सदस्य कायम रहेका छन् ।








