निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताएकी छन् ।
बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याइन् ।
उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गरिन् ।
उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन् ।
उनले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरुलाई कमजोर ठान्ने सोच नै गलत भएको बताइन् ।
देशभरका मतदाताहरुले समानुपातिक सांसदहरुलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाई थियो ।
उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरुलाई फेरि सोहीतर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राखिन् ।








