५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरे ।

उपसभापति शर्माले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गरे । उनले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली लगायतका प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

‘अहिले काँग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू काँग्रेसमा समाहित भइरहनुभएको छ’ शर्माले भने ‘एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले काँग्रेसको रुख चिन्ह रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।’

५ वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस

शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिका बारेमा गम्भीर बहस हुनुपर्ने प्रश्ताव राखे । ‘हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के–के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ । निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ’ उनले भने ।

भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको स्पष्ट पार्दै उनले भने ‘काँग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुनेछैन ।’

विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ को अवधारणा ल्याएको शर्माले बताए । उनले १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाए ।

‘काठमाडौँको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ’ शर्माले थपे ‘बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिंचाई र खानेपानी समस्या समेत हल गर्नेछ ।’

‘मेरो वडा म जिताउँछु’ अभियान र सुनिल शर्माको समर्थन

उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिल गरे । उनले डा. शर्मालाई ‘गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा’ को रूपमा चित्रण गरे ।

चुनाव जित्नका लागि प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उनले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिए ।

‘व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिङ्गो काँग्रेसको भिजनलाई जिताउनु पर्छ’ शर्माले भने ‘२५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै यो क्षेत्रको समुन्नतिको शुरुवात हुनेछ ।’
कार्यक्रममा उनले विपक्षीलाई गाली नगरी संस्कारयुक्त राजनीति गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्ताहरूलाई प्रेरित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =