विश्वकपमा वेस्ट इन्डिजको कीर्तिमानी प्रदर्शन : जिम्बाब्वे १०७ रनले स्तब्ध

काठमाडौं । आईसीसी टी(२० विश्वकपको सुपर ८ चरण अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा वेस्ट इन्डिजले जिम्बाब्वेमाथि १०७ रनको फराकिलो जित दर्ता गरेको छ । मुम्बईस्थित वानखडे स्टेडियममा क्यारेबियन शक्तिसामु जिम्बाब्वे निरिह देखिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो । यो स्कोर जारी विश्वकपकै सबैभन्दा उच्च योगफल हो । यसअघि ओमानविरुद्धको खेलमा श्रीलंकाले बनाएको २२५ रनको कीर्तिमानलाई वेस्ट इन्डिजले उछिनेको छ ।
वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८५ रन जोडे । उनले मात्र ३४ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै, रोभम्यान पावेलले ३५ बलमा ५९ रनको योगदान दिँदा शेर्फेन रदरफोर्ड ३१ रनमा अविजित रहे । रोमारियो शेफर्डले १० बलमा आक्रामक २१ रन जोडे भने कप्तान शाही होपले १४ रन बनाए । जिम्बाब्वेका बलर रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले २-२ विकेट लिए पनि रनको गति रोक्न असफल रहे ।
२५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि आठौँ नम्बरमा मैदान प्रवेश गरेका ब्राड इभान्सले विष्फोटक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले २० बलमा ५ छक्का र २ चौकासहित ४३ रन बनाए । अन्य ब्याटरहरूमा डायन मायर्सले २८, सिकन्दर रजाले २७, तदिवानाशे मारुमानीले १५ र टोनी मुन्योंगाले १४ रन जोडे ।
जिम्बाब्वेको ब्याटिङ ध्वस्त बनाउन वेस्ट इन्डिजका गुडाकेश मोती नायक बने । उनले कसिलो बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै, अकिल होसेनले ३, म्याथ्यू फोर्डले २ र जेसन होल्डरले १ विकेट हात पारे । यो जितसँगै वेस्ट इन्डिजले सुपर ८ मा आफ्नो बलियो उपस्थिति जनाएको छ ।








