बालेनको बाचापत्रमा दमक भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता (पत्रसहित)

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा केन्द्रित बाचापत्र सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण भएको दमक भ्युटावरलाई उच्चतम नागरिक उपयोगी बनाएर सञ्चालनमा ल्याउने प्रमुख प्रतिबद्धता जनाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा भनिएको छ, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’ करोडौं लगानीमा बनेको यो भ्युटावर लामो समयदेखि पूर्ण सञ्चालनमा नआउँदा ओलीको आलोचनाको विषय बन्दै आएको छ ।

बाचापत्रमा बालेनले संविधानको परिपालना, कानुन निर्माण तथा संशोधनमार्फत कार्यान्वयन सहज बनाउने, भ्रष्टाचार र बेथितिविरुद्ध संसदमा अग्रपंक्तिमा उभिने पहिलो प्रतिबद्धता राखेका छन् । उनले राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकास मुद्दा सशक्त रूपमा उठाउने, संघ–प्रदेश–स्थानीय तहका योजनाको प्रभावकारी अनुगमन गर्ने तथा स्थानीय जनताको समस्या संसदमा निरन्तर प्रस्तुत गर्ने बताएका छन् ।

नेपाल सरकार र जेनजीबीचका सम्झौताको पारदर्शी कार्यान्वयन सुनिश्चित गर्ने, स्थानीय तथा प्रदेश सरकारका योजनालाई संघीय तहबाट छिटो कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने पनि उनको योजना छ । आधारभूत आवश्यकता (गाँस, बास, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा) सबैसम्म पु¥याउने, राष्ट्रहितविपरीत सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्त बनाउने तथा विकाससँगै प्रकृति संरक्षणमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकार सम्बोधन गर्ने, राजनीतिलाई सेवा बनाउने तथा मतदाताको विश्वासलाई काममा रूपान्तरण गर्ने उनको संकल्प छ ।

शिक्षा क्षेत्रमा उनले गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, काठमाडौंमा लागू ‘शिक्षामा सीप’ कार्यक्रम झापामा विस्तार गर्ने, विद्यालय छाड्ने दर शून्यमा झार्ने, स्मार्ट कक्षा, ल्याब तथा पुस्तकालय स्थापना गर्ने बताएका छन् ।

गौरीगञ्जको त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन केन्द्र बनाउने, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने, दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने, दमक साइन्स पार्क व्यवस्थित गर्ने लगायत शिक्षा सुधारका एजेन्डा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =