धादिङ दुर्घटनापछि गृहमा बैठक, छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं । धादिङको पृथ्वी राजमार्गमा राति भएको भीषण बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । दुर्घटनामा ठूलो संख्यामा जनधनको क्षति भएपछि गृह मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले घटनाको कारण पत्ता लगाउन छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, तीनवटै सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधिबीच भएको छलफलले दुर्घटनाको समीक्षा गर्दै छानबिन समिति बनाउने निष्कर्ष निकालेको हो । गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यकाअनुसार सरोकारवाला निकायहरूसँगको परामर्शपछि घटनाको विस्तृत अनुसन्धानका लागि समिति बनाउने निर्णय भएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट निकै तल खसेका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार १७ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।










