धादिङ दुर्घटनाको खबरले मर्माहत बनायो : गगन थापा

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा शनिबार मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
बिहान करिब १ः३० बजे भएको सो भीषण दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले धादिङमा भएको यस दुखद दुर्घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै दुर्घटनाको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
थापाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनामा परी घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।










