धादिङका सीडीओको गुनासो- ‘उद्धार सामग्री भएको भए अझै धेरैलाई बचाउन सकिन्थ्यो’

काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । राति करिब एक बजे बस सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा ६ महिला र ११ पुरुष गरी १७ जनाको ज्यान गएको छ । घटनास्थलबाट २७ जना घाइतेलाई जीवितै उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । उद्धार गरिएकाहरुमा ८ महिला, १८ पुरुष र एक बालिका छन् ।

राति दुर्घटना भएको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहितको टोली घटनास्थल पुगेको थियो । रातभर उद्धारमा खटिएका उनले आवश्यक उपकरण र सामग्रीको अभावमा निकै कठिनाइ भोग्नुपरेको बताए । ‘हामीसँग उद्धारका लागि पर्याप्त आधुनिक सामग्री भएनन्, प्रहरीले बोक्ने टर्चकै भरमा रातभर घाइतेहरुको खोजी र उद्धार गर्‍यौं,’ प्रजिअ सुवेदीले भने ।

अप्ठेरो भूगोल र बस क्षतविक्षत भएको अवस्थामा फेला परेकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको थियो । दुर्घटनास्थलबाट घाइते र मृतकलाई सिधै सडकसम्म ल्याउन कठिन भएपछि डुंगाको प्रयोग गरिएको थियो । डुंगाबाट करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकाल्दै एम्बुलेन्स मार्फत अस्पताल पठाइएको उनले जानकारी दिए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा खटिएको टोली र कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयबाट आएका गोताखोरको टोलीले समेत रातभर उद्धार कार्यमा सहयोग गरेका थिए । बस सडकबाट निकै तल खसेर टुक्राटुक्रा भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =