पार्टीको झण्डा जलाउने लगायतका गतिविधि निन्दनीय छ, तत्काल बन्द गरियोस्: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।
त्यसैगरी काँग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा असर पुर्याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधिहरू कहीँ कतैबाट पनि हुन नहुने भनेको छ ।
प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिनेकुरा कुनैपनि पार्टीले गर्न नहुने बताए ।
उनले भने ‘हामी अनुरोध गर्न चाहन्छौँ–जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँकतैबाट हुनुहुँदैन । सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति कुनैपनि पार्टीबाट हुनु श्रेयस्कर हुँदैन । कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ । यस्तो कार्यहरू तत्काल बन्द गरिनु पर्दछ ।’
प्रवक्ता चालिसेले नेपाली काँग्रेसले पार्टीले जारी गरेको प्रतिज्ञापत्र पनि आम मतदाताको आकर्षण रहेको जिकिर पनि गरे ।








