सरकारलाई सचेत गराउँदै काँग्रेसले भन्यो- ‘निष्पक्षतामा दायाँबायाँ गर्ने छुट छैन’

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधताको एक मात्र स्रोत जनताको मताधिकार भएको भन्दै निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने सम्पूर्ण दायित्व सरकारको भएको स्मरण गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यदेखि लिएर काँग्रेसमा भइरहेको अन्य दलका नेताहरूको प्रवेशसम्मका विषयमा उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरे ।

सरकारलाई सचेत गराउँदै काँग्रेस: ‘निष्पक्षतामा दायाँबायाँ गर्ने छुट छैन’

स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको कुरामा जोड दिँदै प्रवक्ता चालिसेले सरकारलाई आफ्नो कर्तव्यप्रति सचेत गराए ।
‘शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा कुनैपनि दायाँबायाँ गर्ने छुट सरकारलाई छैन ।’ उनले भने ‘हामीले सरकारको नियतमाथि अहिल्यै शंका गरिसकेका त छैनौँ, तर निष्पक्षताको वातावरण निर्माण गर्ने कर्तव्यप्रति सरकार निरन्तर सचेत हुनु जरुरी छ ।’

काँग्रेसमा प्रवेश गर्नेको लहर, बहुमत आउने दाबी

पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूको ठुलो लहर चलेको चालिसेले दाबी गरे ।
उनकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्यहरू, उच्च तहका नेताहरू र प्रदेश संयोजकहरूदेखि लिएर नेपाल कम्युनिस्ट पार्टीका पूर्वमन्त्री, केन्द्रीय सदस्य र संविधानसभा सदस्यहरूसमेत काँग्रेसमा प्रवेश गरेका छन् ।

‘जिल्ला अध्यक्षदेखि सम्पूर्ण जिल्ला कमिटी नै काँग्रेसमा समाहित भएका समाचारहरू सार्वजनिक भइसकेका छन् । साना–ठुला सबै पार्टीका हजारौँ नेता तथा कार्यकर्ता र कतिपय समानुपातिक उम्मेदवारहरूसमेत काँग्रेसमा आबद्ध हुने क्रम जारी छ ।’ उनले भने ।

उपयुक्त समय र सन्दर्भ मिलाएर आमसभा तथा विभिन्न कार्यक्रमहरूमार्फत नवप्रवेशहरूलाई पार्टीमा व्यवस्थित गर्दै लगिने उनले जानकारी दिए । यो आकर्षण र उत्साहजनक सङ्ख्याले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमतमा पुर्याउने विश्वास पार्टीले लिएको उनले बताए ।

‘सुसुप्त शक्तिहरूले चुनाव बिथोल्न खोजे पनि निर्वाचन रोकिँदैन’

मतदातामाझ निर्वाचन हुने वा नहुने भन्ने आशङ्का रहेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता चालिसेले निर्वाचन हुन नदिने सुसुप्त शक्तिहरू सक्रिय हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए । यद्यपि सरकारको दृढता र राजनीतिक दलहरूको सक्रिय सहभागिताले ती सबै आशङ्का र सम्भावनाहरूको अन्त्य गर्ने उनले स्पष्ट पारे ।

‘निर्वाचन सार्नु वा नहुनु भनेको अर्को अर्थ लाग्नु हो । डेमोक्रेटिक पार्टीले जनताको सार्वभौमसत्ता र सर्वोच्चतालाई सधैँ स्वीकार गर्छ ।’ उनले भने ‘लोकतन्त्रमा भाग लिने सबै पार्टीहरू विचलित नभई चुनावमा होमिनुको विकल्प छैन ।’

पूर्वराजाको वक्तव्यमाथि टिप्पणी: ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जाँदा निकास निस्कँदैन’ भनी दिएको वक्तव्यप्रति लक्षित गर्दै प्रवक्ता चालिसेले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने तर लोकतन्त्रको विकल्प अरू केही हुन नसक्ने प्रस्ट पारे ।

‘कुनैपनि नागरिकको व्यक्तिगत स्वतन्त्रता हुन्छ, त्यसमा हाम्रो कुनै टिप्पणी छैन । तर लोकतन्त्रलाई सुनिश्चित गर्ने जनताको मतले नै हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, त्यो भन्दा भिन्न अन्य अर्थ राख्न सकिँदैन ।’ उनले भने ।

निर्वाचन पश्चात् जनताका प्रतिनिधिहरू उपस्थित भएको संसदले नै देशमा विद्यमान सम्पूर्ण राजनीतिक समस्याहरूको समाधान गर्ने विश्वास नेपाली काँग्रेसले लिएको उनले बताए ।

लोकतन्त्रको रक्षा र समृद्धिको यात्रा

प्रवक्ता चालिसेले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरण र आम जनताको समृद्धिसँग अविच्छिन्न जोडिएको महत्त्वपूर्ण अवसरको रूपमा व्याख्या गरेका छन् । उनकाअनुसार लोकतन्त्रको स्थापना, संवर्धन र दिगो भविष्यमार्फत लोककल्याणकारी शासन व्यवस्थालाई सबलीकरण गर्न काँग्रेसले वर्तमान परिस्थितिका अवसर र चुनौतीलाई अत्यन्त संवेदनशील भएर हेरेको छ ।

दशकौँदेखि मुलुकले खेपेको राजनीतिक सङ्क्रमण, आर्थिक विशृङ्खलता र जनताको आकाङ्क्षाहरूअनुसार काम नभएको यथार्थतालाई काँग्रेसले उच्च जिम्मेवारी बोधका साथ आत्मसात् गरेको प्रवक्ता चालिसेको भनाइ छ ।

उनले भने ‘सार्वभौम जनताको जनादेश नै शासनको वैधानिकताको आधार हो, र यो चुनावद्वारा परिलक्षित हुन्छ भन्ने विषयलाई काँग्रेसले गहिरो रूपमा आत्मसात् गर्दछ ।’

प्रेस स्वतन्त्रता र आलोचनात्मक समीक्षाको सम्मान

प्रवक्ता चालिसेले प्रेसलाई लोकतन्त्रको सबैभन्दा शक्तिशाली संवाहकको रूपमा सम्मान व्यक्त गरेका छन् । उनले प्रेसबाट सकारात्मक सन्देश सम्प्रेषण भइरहेकोमा खुसी व्यक्त गर्दै पत्रकारहरूबाट आलोचनात्मक समीक्षाको अपेक्षा समेत गरे ।

‘लोकतान्त्रिक आन्दोलनका आदि पुरुष बिपी कोइरालाले भने झैँ पत्रकारबाट आलोचना भएन भने हामी दुःखी हुन्छौँ ।’ उनले थपे ‘प्रेसले प्राण मान्ने अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो र काँग्रेस लोकतन्त्रको सेवक र संवाहक भएको नाताले सधैँ प्रेस स्वतन्त्रताको पक्षपोषण गर्दछ ।’

‘काँग्रेस २.०’: नयाँ सोच र परिष्कृत अध्याय

नेपाली काँग्रेसले अहिले ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ भन्ने मूल ध्येयका साथ नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ । यसलाई प्रवक्ता चालिसेले ‘काँग्रेस २।०’ को संज्ञा दिएको छ । यो नवीकृत र परिष्कृत अध्यायलाई चिन्तनशील बुद्धिजीवी, पेसाकर्मी र आम गरिखाने वर्गले हार्दिक स्वागत गरेको उनको दाबी छ ।

अति लोकप्रियतावादी उन्माद र प्रतिगामी भड्काएका बीच मध्यममार्गी एवं सन्तुलित चरित्रको वैज्ञानिक पद्धति सुनिश्चित गर्न काँग्रेसले थप मेहनत गरिरहेको उनले बताए ।

भ्रम र षड्यन्त्र विरुद्ध दृढता

निर्वाचनको मुखमा सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यम प्रयोग गरी काँग्रेस उम्मेदवारहरूलाई अपमान र दुरुत्साहित गर्ने प्रयास भइरहेकोप्रति प्रवक्ताले ध्यानाकर्षण गराएका छन् ।

उनले भने ‘काँग्रेस हतासको राजनीति गर्दैन र गर्न पनि दिँदैन । इतिहासका अनेक सङ्घर्षको कसीमा उत्रेको काँग्रेस अवसरवादी सङ्क्रमणका हरेक चुनौतीलाई सामना गर्न सक्षम छ ।’

उनले सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई कुनै पनि भ्रम वा विचलनमा नपरी दृढताका साथ प्रचारप्रसारमा लाग्न निर्देशन दिएका छन् ।

सामाजिक सद्भाव र मर्यादित चुनावी प्रतिस्पर्धा

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रवक्ता चालिसेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न सबैलाई आग्रह गरे ।

‘सामाजिक द्वेष फैलाउने घृणायुक्त अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झण्डा जलाउने जस्ता गतिविधि निन्दनीय छन् र यस्ता कार्य तत्काल बन्द गरिनुपर्दछ ।’ उनले भने ।

काँग्रेसले ल्याएको प्रतिज्ञा पत्र (घोषणापत्र) प्रति जनताको व्यापक सन्तुष्टि रहेको र त्यसमाथि हुने विमर्श र प्रश्नहरूको उत्तर दिन पार्टी तत्पर रहेको पनि उनले स्पष्ट पारे ।
पार्टी प्रवेशको लहर र एकताको आह्वान

निर्वाचन नजिकिँदै जाँदा देशभर नेपाली काँग्रेसप्रति आकर्षण चुलिँदै गएको र विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि कार्यकर्ताहरू काँग्रेसमा आबद्ध हुने लहर चलेको प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =