रास्वपा नुवाकोट र नवलपरासीका नेताले गरे पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा जिल्ला तहका नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ । पछिल्लो समय नुवाकोट र नवलपरासीका प्रभावशाली स्थानीय नेताहरूले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएका छन् ।

नुवाकोटका रास्वपा नेता अशोककुमार थापाले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरे । २०७९ सालको निर्वाचनदेखि नै पार्टीको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा क्रियाशील थापाले रास्वपा आफ्नो मूल विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको आरोप लगाएका छन् । उनले पार्टीमा नीति र विधिको साटो नेतृत्वको ‘आशिर्वाद’बाट पदाधिकारी चयन हुन थालेको भन्दै असन्तुष्टि पोखेका छन् ।

रातदिन संगठन निर्माणमा खटिने इमानदार कार्यकर्तालाई पाखा लगाउन एउटा तप्का सक्रिय रहेको र पार्टी पूर्ण रूपमा अलोकतान्त्रिक बन्न थालेकाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको थापाले उल्लेख गरे । अघिल्लो निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार सुमनविक्रम पाण्डे निकट मानिने थापाको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तै, रास्वपा बर्दघाट नगरपालिकाका नेता जितबहादुर हरिजनले पनि पार्टीबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने उपनिर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा पार्टीले उम्मेदवार चयन गर्दा विधि मिचेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । नेपाली कांग्रेसबाट भर्खरै रास्वपा प्रवेश गरेका विक्रम खनाललाई टिकट दिएपछि हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।

पार्टी निर्माणमा लामो समय योगदान दिएका कार्यकर्ताको अवमूल्यन गर्दै नेतृत्वले ‘भन्ने एउटा र गर्ने अर्को’ व्यवहार देखाएको हरिजनले बताए । २०७९ सालको निर्वाचनमा कठिन परिस्थितिमा पनि पार्टी विस्तारमा मुख्य भूमिका खेलेका महेन्द्र सेन ठकुरीलाई टिकट दिनुपर्ने स्थानीय कार्यकर्ताको माग विपरित नयाँलाई प्राथमिकता दिइएकोमा उनले आपत्ति जनाए । बर्दघाट–१३ का वडा सभापतिसमेत रहेका हरिजनको राजीनामाले नवलपरासीमा रास्वपाको स्थानीय संगठनमा धक्का पुग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =