रास्वपाले मुद्दा उठाएकोमा आशा पलायो : डा. बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले सार्वजनिक गरेका चुनावी घोषणापत्रहरू संरचनात्मक सुधारविना कार्यान्वयन हुन नसक्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले दलहरूका लक्ष्य महत्वाकांक्षी हुनु सकारात्मक भए पनि वर्तमान शासकीय स्वरूप र नीतिगत संरचनामा परिवर्तन नभएसम्म ती उद्देश्य पूरा नहुने दाबी गरे ।

दलहरूका घोषणापत्रमा विगतको तुलनामा केही गुणात्मक सुधार देखिएको उल्लेख गर्दै उनले यसको श्रेय जनता र विशेष गरी युवाहरूको बढ्दो आकांक्षालाई दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एजेन्डाहरू सापेक्ष रूपमा संक्षिप्त र प्रष्ट ढंगले प्रस्तुत गरेको भन्दै त्यसको प्रशंसा समेत गरे ।

आफू अर्थमन्त्री हुँदाको सन्दर्भ स्मरण गर्दै डा. भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ भन्ने पंक्ति उद्धृत गर्दै सबै दलले उच्च लक्ष्य राख्नु सुखद पक्ष भएको बताए । उनले विगतदेखि नै ‘दुई अंकको आर्थिक वृद्धिदर, दुई दशक निरन्तर’ को नारा अघि सार्दै आएको चर्चा गर्दै तीव्र आर्थिक फड्को नमारेसम्म बेरोजगारी समस्या हल नहुने जिकिर गरे ।

यद्यपि , यी महत्वाकांक्षी योजनाहरू कार्यान्वयनका लागि उनले ‘संरचनात्मक सुधार’ लाई अनिवार्य शर्तका रूपमा अघि सारेका छन् । उनले भने , “आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनुपर्छ । त्यस्तै , बाह्य रूपमा दुई ठूला छिमेकी मुलुकको अर्थतन्त्रलाई जोड्न ‘गतिशील पुल’ को अवधारणा कार्यान्वयन गर्नैपर्छ ।”

यी आधारभूत परिवर्तन र सुधारविना घोषणापत्रमा लेखिएका राम्रा कुराहरू ‘आकाशको फल’ जस्तै हुने उनले चेतावनी दिएका छन् । प्रमुख राजनीतिक दलहरू शासकीय स्वरूप परिवर्तन र संरचनात्मक सुधारका विषयमा मौन रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण भएको उनको ठम्याइ छ । यसै सन्दर्भमा रास्वपाले यी विषयलाई झिनो स्वरमा भए पनि उठाएकोमा उनले केही आशा पलाएको बताए ।

निर्वाचनमार्फत प्राप्त हुने जनमतलाई संरचनात्मक सुधारमा लगाउन सके मात्र समृद्ध नेपालको सपना साकार हुने , अन्यथा यो निर्वाचन पनि एउटा सामान्य कर्मकाण्डमा मात्र सीमित हुने उनको विश्लेषण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =