अब कर्णालीका सुइना हाम्रा सुइना: बालेन्द्र साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्घोष गरेका छन् ।

मुगुस्थित ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा तालको किनारबाट कर्णालीको समृद्धिको ढोका खोल्ने ‘वाचापत्र’ सार्वजनिक गर्दै नेता शाहले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा शाहले कर्णालीको भौगोलिक विशिष्टताको चर्चा गर्दै देशको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा लामो नदी कर्णाली र सबैभन्दा गहिरो ताल फोक्सुण्डो कर्णालीमै रहेको बताए । तर यो गहिराइलाई अहिलेसम्मका कुनैपनि सरकार वा राजनीतिक दलले बुझ्न नसकेको बताए ।

कर्णालीको गहिराइ बुझ्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको उनको भनाइ छ । कर्णालीको आर्थिक अवस्थामाथि चिन्ता व्यक्त गर्दै उनले डोल्पाको बहुमूल्य यार्सागुम्बा विश्व बजारमा पुग्ने भएपनि कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्न नसक्नु विडम्बनापूर्ण रहेको बताए । ‘यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाऔं, तपाईंहरुको आशिर्वाद लिन पाऔं र तपाईंहरुको अस्ति मैले फेसबुकमा लेखेको जस्तै अब कर्णालीका सुइना हाम्रा सुइना भन्या जस्तै तपाईंहरुको त्यो सपना बोकेर जान पाऔं र त्यो सपना बोक्ने शुरुवात आज हामीले वाचापत्रबाट गरेका छौं, कर्णालीबाट घोषणा गरेका छौं। आज उपरान्तबाट त्यो सबै तपाईंको सपना हाम्रा सपना हुनेछन्, ती सपना बोकेर यहाँबाट जान पाऔं’ उनले भने ।

रास्वपाले कर्णालीको स्थानीय उत्पादनलाई देशभरका भान्सासम्म पुर्‍याउने संयन्त्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । साहले कर्णालीलाई नेपाली र खस भाषाको उद्गम स्थलका रूपमा स्मरण गर्दै सिन्जा उपत्यका सभ्यताको संरक्षणमा जोड दिए ।

कर्णालीमा व्याप्त भोकमरी, मातृ मृत्युदर र बाल मृत्युदरका तथ्याङ्कहरू अझै पनि भयावह रहेको प्रति दुःख व्यक्त गर्दै उनले अब गरिबी बेच्ने राजनीति अन्त्य हुनुपर्ने बताए ।

पर्यटन, कृषि र आयआर्जन वृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै रास्वपाले कर्णालीको समग्र विकासको खाका प्रश्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =