निर्वाचन सफल पार्न आयोगको नयाँ रणनीति: कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कलाकार र सर्जकहरूको भूमिका निर्णायक हुने बताएको छ ।

फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी कलाकार, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको बताएका हुन् ।

यसको आत्मा सचेत मतदाताहरू नै रहेको बताए । सचिव राउतले विगतका निर्वाचनमा कलाकारहरूले पुर्याएको योगदानको कदर गर्दै यसपटक पनि मतदाता शिक्षामा रचनात्मक सहयोग गर्न आग्रह गरे । सचिव राउतले डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव बढेको भन्दै करिब ९० प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा रहेको बताए ।

उनले नयाँ मिडियामा फैलिने गलत सूचना र अफवाहले लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेकाले त्यसलाई चिर्न र सही सूचना प्रवाह गर्न इन्फ्लुएन्सरहरूलाई सक्रिय हुन अनुरोध गरे । आयोगले कलाकारहरूलाई कुनै दल वा उम्मेदवारको पक्ष नलिई ‘सद्भावना दूत’ का रूपमा राजनीतिक तटस्थता कायम गर्दै आम नागरिकलाई मतदानका लागि प्रेरित गर्न विशेष जोड दिएको छ ।

उनले भने ‘लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो र निर्वाचनको आत्मा भनेको सचेत, सुसूचित र जिम्मेवार मतदाताहरू हुन् । स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचन सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व हो । यो अभिभारा पूरा गर्न आयोगलाई यहाँहरूको महत्त्वपूर्ण साथ र सहयोगको महसुस भएको छ । आज यहाँ उपस्थित तपाईँ सम्पूर्ण सर्जक, कलाकारकर्मी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर लगायतका सम्पूर्ण सर्जक तथा प्रश्तुतकर्ता ज्यूहरूको फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई उल्लासमय रूपमा सम्पन्न गर्न सहयोग, अपनत्व र साझेदारीको भूमिका आयोगले खोजेको छ । विगतका निर्वाचनहरूमा तपाईँहरूको गीत, नाटक, सार्वजनिक सन्देश, अन्तर्वार्ता, समाचार, सामाजिक सञ्जालका सामग्रीहरूमार्फत मतदाता शिक्षामा पुर्याएको योगदानलाई निर्वाचन आयोगले उच्च मूल्याङ्कन गर्दै आएको छ । तपाईँहरूको रचनात्मकता र जिम्मेवार प्रस्तुतिले मतदाता समक्ष निर्वाचन सम्बन्धी सही सूचना प्रवाह गर्न, मतदान गर्ने सही र सरल तरिका बुझाउन, मताधिकारको महत्त्व बुझाउँदै लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष निर्वाचन प्रति आम नागरिकको विश्वास बढाउन, मतदाता सहभागिता अभिवृद्धि गरी बदर मत प्रतिशत न्यूनीकरण गर्न र निर्वाचनलाई देशको आर्थिक समृद्धि र सुशासन कायम गराउने जिम्मेवार र जबाफदेही जनप्रतिनिधिहरू छान्ने महान् पर्वको रूपमा सम्पन्न गर्न उल्लेखनीय सहयोग पुग्न जानेमा आयोग विश्वस्त रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले यहाँहरूलाई मतदाता शिक्षाका लागि सद्भावना दूतका रूपमा कार्य गर्न समेत आग्रह गर्दछ । सद्भावना दूतका रूपमा तपाईँहरूले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नभई आम नागरिकलाई मताधिकारको सही प्रयोग गर्न उत्प्रेरित गराउने र निर्वाचनको महत्त्व र नागरिक कर्तव्य सुसूचित गराउने भूमिका निर्वाह गरिदिन निर्वाचन आयोग यहाँहरूलाई हार्दिक अनुरोध गर्दछ ।’

आयोगले मतदान गर्ने सही तरिका सिकाउन, मताधिकारको महत्त्व बुझाउन र बदर मतको प्रतिशत न्यूनीकरण गर्न कलाकारहरूको गीत, नाटक र भिडियो सामग्रीहरूले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । निर्वाचनलाई भय र निराशाको सट्टा उत्सव र गौरवको रूपमा मनाउन सचिव राउतले सबैमा आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =