‘भागबन्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।

मंगलवार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबन्डामा लिप्त भएको आरोप लगाउँदै इमानदार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे ।

अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिबद्धता र व्यवहारबीच कुनै तालमेल नराखेको टिप्पणी गरे । दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औँल्याए ।

नेपाली राजनीतिमा मौलाएको ‘भागबन्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ । न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबन्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उनले बताए । अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरे ।

उनले पार्टीले अब ‘घुस नखानेहरूको पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ श्रमजीवी जनता र बुद्धिजीवीहरूको प्रतिनिधित्व गर्ने बताए । कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमानदारिता र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूची रहेको छ ।

उनले भने ‘जनताको जानकारीको लागि, देशका मतदाताहरूलाई यसमा सजग गराउनको लागि नै यी घोषणापत्रहरू विमोचन गर्ने कार्यक्रम रहन्छन्, संसारभरिका परिपाटी हुन्, गर्छन् पनि । तर जुन उद्देश्यबाट यी घोषणापत्रहरू सार्वजनिक गरिन्छन्, जनताको अगाडि पस्किन्छन्, हाम्रो इतिहास हेर्ने हो भने हाम्रा सत्तामा पुगेका पार्टीहरूका क्रियाकलाप र उनले त्यो भन्दा पहिले जारी गरेका घोषणापत्रहरूमा कुनै पनि तारतम्य देखिँदैन । घोषणापत्रमा दीर्घकालीन कार्यक्रमहरू पनि समावेश भएका हुन्छन्, जसको परिणाम आजको भोलि नै दिन सक्दैन, पाँच वर्षकै कार्यकालमा दिन सकिँदैन, नसकिएला । तर के हुन्छ त भन्दाखेरि त्यो दिशामा अगाडि बढेको र त्यो दिशामा प्रयासहरू र परिवर्तनहरू चाहिँ सत्तामा पुगेको दिनदेखि नै गर्नुपर्ने हुन्छ । तर यहाँ के भो त भन्दाखेरि बहुमत नपुगेको, हङ पार्लियामेन्ट भएको नाममा त्यो स्वाभाविक नै हो, बनाइन्छन् मोर्चाहरू संसारमा यो रूपमा, जम्मै ठाउँमा बनाइन्छन् मोर्चाहरू पनि । तर ती मोर्चाहरूको पनि एउटा आधारभूत जति मान्छेहरू त्यो मोर्चामा त्यो सरकारमा सम्मिलित हुन्छन्, तिनीहरूको एउटा साझा कार्यक्रम, आफ्ना–आफ्ना कार्यक्रमको बीचबाट निकालेर साझा कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने परिपाटी हुन्छ, त्यो यहाँ कहिल्यै पनि देखिएन । तपाईँहरू सबैलाई थाहा छ, के देखियो त भन्दाखेरि जुन सत्तामा जाने हो, त्यो सत्तामा जानको लागि र टिक्नको लागि कार्यक्रममा, उनका विचारहरू, उनको राजनीतिहरू, उनको भविष्यका योजनाहरूमा कुनै आधारभूत प्रस्तावनाहरू स्थापित गरेर अगाडि बढ्ने प्रयासको साटो कुन–कुन सिटमा न्यायाधीशमा कसरी बाँड्ने, मन्त्रीमा कसरी बाँड्ने, निर्वाचन आयोगमा कसरी बाँड्ने, अख्तियार दुरुपयोगमा कसरी बाँड्ने आदि इत्यादि साराका सारा के भयो त भन्दाखेरि आफ्नो एउटा भागबन्डाको आधारमा जुन राजनीति अगाडि बढ्यो, त्यसले देश बरबादतर्फ गयो । दुई वटा कुरा भए । एउटा त यो भागबण्डाले गर्दाखेरि देशको समाजलाई मानसिक रूपमा नै भ्रष्ट गर्याे । आज देशको सिङ्गो समाजको मनोविज्ञानलाई हेर्ने हो भने त्यसको धेरै ठुलो जत्था त्यही भ्रष्ट मानसिकताबाट राजनीतिमा डोरिएको हामी देख्छौँ । आज पनि त्यही अवस्था छ । भाषणहरू ठुलठुला छन् । कोही नयाँ भनेर तपाईँको घण्टी हल्लाउँदै हिँडिराछन्, कोही मेरो गढ हो र म यो हुँ भन्छ तपाईँको उसमा गरिराख्या होला, कोही हामी परिवर्तन भयौँ भनेर भनिराछन् भाषणमा । तर त्यसको जाँच कसरी गर्ने त भन्दाखेरि कुनै पनि तपाईँको यो विगतका हाम्रा कमजोरीहरू यी भएका हुन् । मोर्चागत गठनमा भागबन्डाको राजनीति चलायौँ, त्यसले हाम्रो यहाँ सरकार पाँच वर्ष नचलेको कारण उ नभएर होइन, सत्तामा गइसकेपछि भागबन्डा नमिलेर सरकारहरू भाँचिए, टुटेका हुन् ।’

अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताए । राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमानदारिता र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिबद्धता व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनको शुद्धीकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =