आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छ: अग्नीप्रसाद सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
मङ्गलवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो दाबी गरेका हुन् ।
देशभरिबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरू पुगेको नेता सापकोटाको भनाई थियो । उनले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रसारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्यम नचुक्ने विश्वास समेत व्यक्त गरे ।
नेता सापकोटाले भने ‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु । आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आइराखेको छ देशभरिबाट ।’
नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भीर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए ।










