बलिउड अभिनेता यादवलाई चेक बाउन्स मुद्दामा अदालतले दियो अन्तरिम जमानत

काठमाडौं । बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा अदालतले अन्तरिम जमानत दिएको छ ।
सोमबार १ करोड ५० लाख भारु जम्मा गरेपछि दिल्ली उच्च अदालतबाट उनलाई अन्तरिम जमानत दिइएको हो ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मार्च १८ सम्म राजपाललाई जेलबाट बाहिर बस्ने अनुमति दिइएको छ ।
राजपालले अन्तरिम जमानत पाएपछि उनका प्रबन्धक गोल्डीले भनेका छन्, ’हो, यो सत्य हो कि राजपाल सरलाई अन्तरिम जमानत दिइएको छ । यो हामी सबैका लागि ठूलो खुसीको क्षण र आनन्दको दिन हो ।’
उनका अनुसार राजपालले यस मुद्दालाई सम्बोधन गर्न र यसबारे कुरा गर्न एक/दुई दिनमा पत्रकार सम्मेलन गर्नेछन् ।
राजपाल अन्तरिम जमानतमा जेलबाट बाहिर आउने तयारीमा रहेका छन् । मुद्दाको अर्को सुनुवाइ मार्च १८ मा हुनेछ । सो अवधिमा उनले अदालतले निर्धारण गरेका सर्तहरूको पूर्ण पालना गर्नुपर्ने छ ।
राजपाल यादवलाई सन् २०१० मा फिल्म ’अता पता लापता’ को लागि ऋण लिएको आरोप थियो । उनी स्वयंको निर्देशनमा बनेको यो फिल्म असफल हुँदा उनले ५ करोड भारू ऋण फिर्ता गर्न सकेनन् र ब्याज सहित ९ करोड भारूभन्दा माथि पुगेको बताइएको छ ।
यसै विषयमा चेक बाउन्सको आरोपमा उनले ५ फेब्रुअरी २०२६ मा तिहाड जेलसमक्ष आत्मसमर्पण गरेका थिए । त्योसँगै राजपाललाई भारतीय फिल्म उद्योगका धेरैले सहयोग र समर्थन गरेका थिए ।








