कमल सङ्घर्षको खस भाषाको गजल सङ्ग्रह ‘हियाका कुडा’ सार्वजनिक

काठमाडौं । खस भाषामा प्रकाशित गजल सङ्ग्रह ‘हियाका कुडा’ को भव्य विमोचन समारोह शनिबार सम्पन्न भएको छ । युवा पुस्ताबीच लोकप्रिय गजलकार कमल सङ्घर्षको यो तेस्रो गजल सङ्ग्रह हो । यसअघि उनका ‘सडक’ र ‘खुँडी’ नामक कृतिहरू साहित्यिक बजारमा आइसकेका छन् ।

विमोचन समारोहमा विवेक ओझा, साहित्यकार पूर्ण रावल तथा गजलकार/गीतकार शीतल कादम्बिनीको उपस्थिति रहेको थियो । वक्ताहरूले सङ्ग्रहको भाषिक सौन्दर्य, मौलिक भावभूमि र खस भाषाको जीवन्त अभिव्यक्तिको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै शीतल कादम्बिनीले ‘हियाका कुडा’ पढ्दा आफू भावुक बनेको अनुभव सुनाइन् । उनले आफ्नो मन परेको गजल तरन्नुम शैलीमा प्रस्तुत गर्दै वातावरणलाई थप उत्ताह बनाइन् ।

यस्तै, साहित्यकार रावलले खस भाषाको लयात्मकता र जीवन्त शब्दावलीले नयाँ पुस्तालाई सिर्जनात्मक रूपमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै विवेक ओझाले कमल सङ्घर्ष आफ्नै समकालीन स्रष्टा भएको उल्लेख गर्दै उनका गजलहरूले आफूलाई सधैं प्रभावित गरेको बताए । विशेषगरी ‘हियाका कुडा’मा पश्चिम नेपालको इतिहास र स्थानीय जनजीवनसँग गजललाई सशक्त रूपमा जोडिएको उनले उल्लेख गरे ।

समीक्षकहरूले काली–कर्नाली क्षेत्रको जनजीवन, प्रेम, संघर्ष, विद्रोह र सामाजिक जागरणका स्वरहरू गजलमार्फत जीवन्त रूपमा चित्रित भएको टिप्पणी गरे । खस भाषाको मौलिकता, लचकता र स्थानीय परिवेशसँगको घुलमिलले पाठकलाई आफ्नै माटो र संस्कृतिसँग नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ ।

समारोहमा चार वर्षका बालक अग्रिम भण्डारीले शीर्ष गजल वाचन गर्दै उपस्थित सबैलाई भावुक बनाएका थिए । कवि तपेन्द्र घोडासैनीको सशक्त सञ्चालन र शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तथा गजलकारहरूले रचनावाचन गरेका थिए ।

कवि न्याथन रायन, गजलकार लक्ष्मण संगम, महेश जैसी तथा मदन बुढाले पनि सङ्ग्रहका गजलहरू प्रस्तुत गर्दै समारोहलाई साहित्यिक उत्सवमा रूपान्तरण गरेका थिए ।

लेखक कमल सङ्घर्षले झण्डै एक दर्जन खस गजल वाचन गर्दै दर्शकबाट ताली र वाहवाही बटुले । शिखा बुक्सद्वारा प्रकाशित ‘हियाका कुडा’को मूल्य रु. ३५० निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =