‘राजनीतिक दलको बेवास्ताकै कारण पार्टी खोल्न बाध्य भयौँ’

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले राजनीतिक दलले आफ्नो हक र अधिकारप्रति चासो नदेखाएका कारण राजनीतिक दल खोल्नु परेको बताएका छन् ।

आज एक कार्यक्रममा समानुपातिक पार्टीका उम्मेदवारहरूले यस्तो बताएका हुन् । संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानुपाति प्रतिनिधित्वको कुरा लेखिए पनि कुनै पनि राजनीतिक दलले यसलाई आत्मसात नगरेको उनीहरूको गुनासो छ ।

पार्टीबाट देशभर ६ जनाले प्रत्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका ओखलढुङ्गा क्षेत्र नं १ का उम्मेदवार पिङ्की राईले बताइन् । उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका विषयमा संविधानमा लेखिएका अधिकार नै कार्यान्वयन हुन नसेको गुनासो गर्दै आफू सांसद भएपछि त्यसकै पक्षमा वकालत गर्ने बताइन् ।

काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार सुरेन्द्र पाण्डेले राजनीतिकले समलिङ्गीलाई भोट बैंक बनाउने तर, उनीहरूको अधिकार संरक्षणमा कुनै पनि कदम नचालेको गुनासो गर्दै आफू बाध्यताबस राजनीतिमा होमिनु परेको सुनाए ।

उनले समलिङ्गी विवाह गर्ने पहिलो नेपाली हुन् । मान्छे मान्छेसँग विवाह गर्न पाउने अधिकार सजिलै नपाएको सङ्घर्ष सुनाउँदै उनले यस्ता थुप्रै कानुनी अभावले गर्दा समलिङ्गीले कष्ट झेल्नु परेको बताए ।

उनले भने, ‘हामी कहिलेसम्म विभेदको भूमरिमा परिरहने ? अब आफ्नो लागि आफै आवाज उठाउँछौँ । संसद्मा पुग्छौँ ।’

उक्त पार्टीका प्रवक्ता प्रतीक्षा चापागाईँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय देशभर रहेको तर, उनीहरूको पहिचान खुलेर आउन नसक्दा मतदाताको पहिचान अन्योलमा परेको बताए ।

उनले राजनीतिक पार्टीलाई पटक–पटक आफ्ना समुदायले जिताए तर, समुदायको अवस्था जहाँको त्यही रहेको प्रष्ट पारे । पार्टीबाट समानुपातिकमा उम्मेदवार दिएका चापागाईंले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अस्थित्व छ, भनेर बुझाउन पनि राजनीतिक पार्टी खोल्नु परेको सुनाए ।

मायाको पहिचान संस्थाका कार्यकारी निर्देशक एवं संविधानसभा सदस्य सुनिलबाबु पन्तले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको अस्थित्वलाई राजनीतिक दलले आत्मसात् गर्न नसकेको बताए ।

जसले गर्दा यो समुदाय सधैँ राज्यको पहुँचदेखि पर रहेको छ । उनले राजनीतिक नै समाजको रूपान्तरण भएकाले राजनीतिबाटै समुदाय अस्थित्व पहिचान गर्ने अभियानमा लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =