शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
काठमाडौँ महानगरपालिका–७ द्वारा आज आयोजित ‘दिव्य शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुर सम्मान समारोह–२०८३’ मा उनले डा दासको सेवा र समर्पणको उच्च प्रशंसा गरे । सभापति थापाले डा दासले भारतमा चिकित्सा शिक्षा हासिल गरेपछि काठमाडौँस्थित वीर अस्पताललगायत विभिन्न सरकारी अस्पतालमा लामो समयसम्म नागरिकको उपचारमा समर्पित भएर सेवा दिएको स्मरण गरे ।
“डा दासको योगदान अतुलनीय छ । उनले जीवनभर स्वास्थ्य सेवामार्फत समाजप्रति पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हो,” सभापति थापाले भने । सभापति थापाले डा दासको योगदानलाई सदैव सम्मान र स्मरण गर्नुपर्ने उल्लेख गर्दै कार्यक्रम आयोजना गरी सम्मान गरेकोमा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल हाडा, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण वडावासीप्रति धन्यवादसमेत व्यक्त गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि डा दासले काठमाडौँवासीको स्वास्थ्य सेवामा पुर्याएको योगदान ऐतिहासिक रहेको बताए । “डा दासले काठमाडौँवासीको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्नुभएको छ । उहाँको सेवा र समर्पणलाई महानगरवासीले सधैँ सम्मानपूर्वक सम्झिरहनेछन्,” उनले भने ।
कार्यक्रमअन्तर्गत शताब्दी पुरुष डा गौरीशङ्करलाल दासलाई चाबहिलस्थित उनकै निवासबाट परम्परागत बग्गीमा रथारोहण गराई विभिन्न स्थानको परिक्रमा गराइएको थियो । समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झा, डा दासका परिवारजन, आफन्त, विभिन्न विशिष्ट व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।








