पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरूसँग आग्रह गरे । आफूले सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको भन्दै उनले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गरे ।

उनले पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पारे । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उनको भनाइ छ ।

उनले भने,‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ । तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ । यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन । यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु । हामी यो क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार छौँ । तर गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउनुहोला । त्यो स्वीकार्य हुँदैन । म सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि काम गर्न पूर्णरूपमा तयार छु ।’

मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गरे । कुनैपनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि उनले चेतावनी दिए । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =