कागजको प्रयोग कम गर्दै प्रभावकारिता बढाउने आयोगको लक्ष्य, फागुन १७ गतेसम्म घरदैलो कार्यक्रम हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ । फागुन ३ गतेदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ । स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैँले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो । यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन् । यस पटकको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको सूचना अधिकारी घिमिरेले बताए ।

कागजको प्रयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ । निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध रहेका भिडियो, एनिमेसन र ब्रोसरहरू मतदातालाई देखाएर शिक्षा दिइनेछ । स्वयंसेवकहरूले घरदैलोमा जाँदा नमुना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने तरिका सिकाउने घिमिरेले बताए ।

उनले भने, ‘कुनै पनि निर्वाचनमा मतदाता शिक्षा एउटा अभिन्न कम्पोनेन्टका रूपमा रहेको हुन्छ । यो विशेष अभियानका रूपमा पनि सञ्चालन गर्नुपर्ने हुन्छ । विगतमा ७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भनेर निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका २०७८ आयोगले स्वीकृत गरेको थियो र त्यही बमोजिम यो मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थियो । त्यतिखेर पनि वडास्तरहरूमा मतदाता शिक्षा स्वयंसेवकहरू परिचालन भएका थिए । तर निर्वाचन आयोगले अनुरोध गरेका आधारमा नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्देशन भए बमोजिम स्थानीय तहहरूले नै आयोजना गरेर त्यहाँ कार्यरत कर्मचारीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरेका थिए । निर्वाचन आयोगले अराएको तर स्थानीय तहले सञ्चालन गर्नुपर्ने भएकाले त्यसको अपनत्व स्थानीय तहले त्यति गम्भीर रूपमा नलिएको जस्तो देखिएको थियो । पछि निर्वाचनपश्चात् आयोगले समीक्षा गर्दा स्थानीय तहबाट सञ्चालन भएको कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै यो पटक आयोगले आफैँ स्वयंसेवकहरू नियुक्ति गर्ने र उनीहरूलाई तालिम दिएर वडाहरूमा परिचालन गर्ने विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरेको छ । सोही बमोजिम अहिले फागुन ३ गतेबाट सबै स्थानीय तहका वडाहरूमा एक–एक जना स्वयंसेवकहरू खटिरहेका छन् । उनीहरू मतदाताहरूको घरदैलो, विद्यालय र बस्तीहरूमा गएर निर्वाचन आयोगले उपलब्ध गराएको नमुना मतपत्र र स्वस्तिक छापको माध्यमबाट कसरी मतदान गर्दा सही हुन्छ र मत बदर हुँदैन भन्ने विषयमा पर्याप्त जानकारी गराउँछन् ।

सँगसँगै उनीहरूको अर्को मुख्य जिम्मेवारी निर्वाचन आयोगले यो पटक कागजलाई कम प्रयोग गरेर डिजिटल मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउनु हो । हाम्रा सामाजिक सञ्जाल, विशेष गरी फेसबुक पेजमा भएका पोस्टर, पम्प्लेट, ब्रोसर, भिडियो र एनिमेसनहरू त्यहाँ छन् । ती सामग्रीहरू देखाउने र सही तरिकाले मतदान गर्न सिकाउने प्रयोजनका लागि स्थानीय परिवेश र भाषा बुझेका स्वयंसेवकहरू खटिएका छन् । उनीहरूलाई अनुगमन गर्न हरेक स्थानीय तहमा अनुगमनकर्ता पनि नियुक्त गरिएको छ । उनीहरूले स्वयंसेवकहरूलाई तालिम दिएका छन् र उनीहरूले गरेको कार्यको हरेक दिन अनुगमन पनि गर्छन् । यसका लागि आयोगले केन्द्रमा एउटा छुट्टै ह्वाट्सएप ग्रुप पनि बनाएको छ । स्वयंसेवक र निर्वाचन सम्पर्क व्यक्तिले आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ लाई फलो गर्नुपर्छ । फलो गरेपछि मोबाइलमा सम्पूर्ण विवरणहरू आउँछन् । सोहीअनुसार मतदाताहरूलाई पनि यो पेज फलो गर्न लगाएर जानकारी दिइन्छ । त्यसैले हामीले यस पटक पोस्टर, पम्प्लेट वा अन्य छपाइ सामग्री उत्पादन गरेका छैनौँ । खाली एउटा नमुना मतपत्रको माध्यमबाट देशभरि यो अभियान सञ्चालन भइरहेको छ ।’

सूचना अधिकारी घिमिरेका अनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न आयोगले प्रविधिको प्रयोग गरेको छ । हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ । मतदाताहरूलाई पनि आयोगको आधिकारिक पेज फलो गर्न प्रोत्साहन गर्दै डिजिटल माध्यमबाटै निर्वाचन सम्बन्धी जानकारी लिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =