अनियन्त्रित बाइक सिसौको रूखमा ठोक्किँदा दम्पतीको मृत्यु

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दुई जनाले ज्यान गुमाएका छन् । गौर-गंगापिपरा सडकखण्ड अन्तर्गत वडा नं. ४ स्थित झाझपुल नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–४, सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान करिब साढे ५ बजेको समयमा गंगापिपराबाट गौरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३० यू १३७१ को मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएको थियो । सडकबाट करिब ५० मिटर तल उछिट्टिएको मोटरसाइकल छेउकै सिसौको रूखमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा परी साह दम्पतीको टाउको, मुख र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए । बिहानको समयमा कुहिरो वा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।










