जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटकको निर्वाचनमा जनताको समर्थन आफूहरूलाई बढेको दाबी गरेका छन् ।

राष्ट्रिय प्रेस क्लबले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गरेका हुन् ।

पार्टी एकीकरणपछि सङ्गठन बलियो भएकोले जनसमर्थन बढेको उनको भनाई छ । उनकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो । राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरू स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उनले बताए ।

सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उनको जिकिर छ । उनले आफूहरूले सधैँ जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गरे । उनले हाल नेपालमा नयाँ र पुराना पुस्ताबीचको लडाई सिर्जना गर्न खोजिएको पनि आरोप लगाए । उनले देश विकासको लागि नयाँ र पुराना दुवै पुस्ता आवश्यक रहेको बताए ।

वर्तमान राजनीतिक बहसमा देखिएको पुराना नेतृत्व असफल र नयाँ पुस्ताको नेतृत्व अनुभवहीन भन्ने दुवै भाष्य भ्रामक र नियोजित रूपमा खडा गरिएको दाबी गरे । यी दुवै भाष्यहरू गलत भएको उनको भनाई छ । उनले पुराना नेतृत्वको अनुभवलाई नयाँले सिक्नुपर्ने र नयाँ पुस्ताको ऊर्जालाई पुरानाले उपयोग गर्नुपर्नेमा जोड दिए ।

अनुभव र ऊर्जाको समन्वयबाट मात्रै मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने उनको भनाई छ । नयाँ र पुरानाबीच द्वन्द्व सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताको विरुद्ध भएको उनले बताए ।

उनले भने ‘हामीले चुनावको अवस्थामा पछिल्ला चुनावभन्दा अहिले हामी बढी अनुकूल वातावरणमा छौँ र जनताको समर्थन पनि पाइरहेका छौँ । त्यसको पनि कारण छ, हामीहरू एकीकृत भएका छौँ । मुख्य कुरा राजनीतिमा मुद्दा हो, विचार हो, सिद्धान्त हो । सैद्धान्तिक रूपमा, वैचारिक रूपमा र राष्ट्रिय तथा स्थानीय मुद्दाहरू हामीसँग छन् । जुन हामी लिएर जनताको बीचमा गएका छौँ । जनताको आकर्षण विगतको तुलनामा अहिले हामीसँग छन् । पुराना नेतृत्व कामै नलाग्ने, यी सबै खत्तम भन्ने एउटा भाष्य बन्दै गएको छ । अर्को चाहिँ नयाँहरू के जान्दछन्, यिनीहरूले बबार्द गर्न मात्रै जानेको छ, भन्ने अर्को भाष्य खडा गरिएको छ । यी दुवै भाष्यहरू गलत हुन् । पुरानाका अनुभव, पुरानो नेतृत्व भनेको त लाइब्रेरी पनि हो, अनुभवको लाइब्रेरी । र नयाँको ऊर्जा यी दुबैलाई जोडेर सहकार्य गरेर अगाडी बढ्नुपर्छ । नयाँले पुरानाको अनुभव लिएर अगाडी बढ्ने, पुरानाले पनि नयाँलाई आफ्ना अनुभवहरू शेयर गरेर मुलुक हाँक्नलाई सक्षम बनाएर जाने हो । नयाँ र पुरानाको बीचको द्धन्दको युग होइन यो । यो जवरजस्र्ती खडा गर्न कोसिस गरिँदैछ । नयाँ पार्टी आउने, नयाँ नेतृत्व आवस्, त्यसैको लागी त हामी लोकतन्त्रको लागी लड्यौँ । हामीले के को लागी जेलनेल भोग्यौँ, के का लागी सङ्घर्ष गर्यौँ, लोकतन्त्रको लागी । लोकतन्त्र परिवर्तनको आधार हो । नयाँ पुस्ता आउने, पुरानाबाट नयाँ पुस्तामा नेतृत्व रूपान्तरण हुँदै जाओस् भनेर त लोकतन्त्र ल्याएको हो । तानाशाही व्यवस्थामा त उही खानदानी शासन मात्रै हुन्थ्यो ।’

अध्यक्ष यादवले लोकतन्त्रको स्थापना नै नेतृत्व रूपान्तरणका लागि भएको उल्लेख गरे । लोकतन्त्र परिवर्तनको आधार भएको बताउँदै उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रियालाई सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =